close

अवैध उत्खनन रोक्ने बर्दिवासका जनप्रतिनिधिको प्रतिबद्धता

अवैध उत्खनन रोक्ने बर्दिवासका जनप्रतिनिधिको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

महोत्तरी–कार्यकालको अन्तिमतिर आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुंगा उत्खनन गरी निर्यात गर्दै आएका र अवैध रूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाए । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै पदावधि सकिँदै छ । 

 

जिल्लामा क्रसर उद्योग (नदीबाट बालुवा, ढुंगा उत्खनन, प्रशोधन र निर्यात गर्ने उद्योग) का लागि बर्दिबास उपयुक्त स्थल मानिन्छ । नगर क्षेत्रमा २० बढी यस्ता उद्योगले मनपरीसँग खाल्डा खनेर अवैध रूपमा उत्खनन गरिरहे पनि नगर नेतृत्व मुकदर्शक बनेको आरोप चुलिँदै गएपछि उनले अवैध रूपले सञ्चालित यस्ता उद्योग तत्काल बन्द गरिने प्रतिबद्धता जनाएका हुन् । 


‘हामी अवैध रूपले सञ्चालित उद्योग तत्काल बन्द गराएरै छाड्छौँ’, नगरप्रमुख कार्कीले भने, ‘यस क्रममा नगर क्षेत्रभित्रका सबै क्रसर उद्योगलाई आफ्नो वैधानिकता पुष्टि गर्न पत्राचार भइसकेको र अब कानुनअनुसार क्रसर उद्योगको नियमन गरिन्छ भनेर आइतबार नै घोषणा गरिसकेका छौँ ।’ उनले पत्रकार सम्मेलन गरेर नदीजन्य पदार्थको अवैध उत्खनन र निर्यात गर्दै आएका सबै उद्योग बन्द गरिने बताइसकिएको प्रसंग दोहोर्‍याउँदै यसबारे ०७७ मा पारित भएको मापदण्डअनुसार कार्यान्वयन गरिने जानकारी दिए । 

 

बर्दिबासमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनयता लगातार नदीको अवैध दोहन बढेकाले स्थानीय सरकार मुकदर्शक बनेको आरोप लाग्दै आएको छ । 

 

क्रसर उद्योग फस्टाउँदै जानुमा जनप्रतिनिधिकै लगानी रहेकाले कारबाही अघि नबढाइएको जनगुनासो बढेको विषयमा नगरप्रमुख कार्कीले भने, ‘मेरो कुनै क्रसर उद्योगमा लगानी वा सेयर छैन, तपाईंहरू भ्रममा नरहनुहोस् । अब यस्ता अवैध उद्योग चल्न दिइँदैन । यो अभियानकै रूपमा कार्यान्वयनमा ल्याइन्छ ।’

 

कार्यकालको करिब अन्त्यतिर आएपछि अवैध उत्खनन नियमनको कुरा उठाएको विषयमा उनले ०७७ को ऐनअघि ठोस कानुनी आधार र अधिकार स्पष्ट नहुँदा काममा जान असहज भएको दाबी गरे । 


‘अब नदीजन्य पदार्थ उत्खनन, प्रशोधन र निर्यातबारे ढुंगा, गिटी, बालुवा उत्खननसम्बन्धी ऐन, २०७७ अनुसार अघि बढ्छौँ’, नगरप्रमुख कार्कीले भने, ‘राजमार्गबाट ५०० मिटर दायाँबायाँ एवं शिक्षण संस्था, विद्युत् हाइटेन्सन लाइन र वन निकुञ्जबाट २ किलोमिटर दूरीभित्र क्रसर उद्योग सञ्चालन गर्न नमिल्ने उक्त ऐनमा व्यवस्था छ ।’ 

 

त्यसैगरी पक्की पुल, खोला वा नदी किनारबाट ५०० मिटर, सघन बस्तीबाट २ किलोमिटर र चुरे पहाडको फेदीबाट १ हजार ५०० मिटर दूरीभित्र क्रसर उद्योग स्थापना र सञ्चालन गर्न नपाइने कानुनी प्रावधान छ । यसबाहेक उक्त ऐनमा नदीजन्य वस्तुको बिक्री वितरण तथा उत्खनन गर्नुपरे अनिवार्य वातावरणीय परीक्षण गर्नुपर्ने, उत्खनन गर्दा श्रमप्रविधिको प्रयोग गर्नुपर्ने, सिँचाइ प्रणालीजस्ता संरचनालाई असर नपर्ने गरी उत्खनन गर्नुपर्नेजस्ता कानुनी व्यवस्थाको अवलम्बन पनि पहल गरिने उनको भनाइ छ । 

 

पाँच वर्षे पदावधिको करिब अन्त्यतिर आएपछि नदीको अवैध दोहन नियमन गर्ने माओवादी केन्द्रका नेतासमेत रहेका नगरप्रमुख कार्कीको भनाइलाई राजनीतिक वृत्तमा नयाँ चुनावका लागि प्रचारको रूपमा अन्य राजनीतिक दलका नेताले अथ्र्याएका छन् । 


‘यो कुनै गुदी भएको कुरा हैन, प्राकृतिक सम्पदामाथि ब्रह्मलुट भएको चार वर्षसम्म हेरेर अहिले आँसु काढेर देखाउन खोजिएको हो’, एमाले बर्दिबास नगर कमिटी सचिव देवनारायण महतोले भने, ‘मेयरसाबको यो नयाँ प्रतिबद्धताले चुनाव नजिकिएछ भन्ने छनक दिन खोजेको छ ।’
त्यसैगरी कांग्रेस नगरसभापति युवराज पोखरेलले पनि अहिले भइरहेको उत्खनन नियमनको कुरा आगामी चुनावका लागि तयारी भएको दाबी गरे । 


जिल्लामा बर्दिबासपछि गौशाला र भङ्गाहा नगरपालिकामा क्रसर उद्योग सञ्चालन हुँदै आएको छ । पछिल्लो पटक बर्दिबासले अब नदीजन्य पदार्थको उत्खननलाई नियमन गरिने बताए पनि गौशाला र भंगाहा नगर नेतृत्वले भने यसबारे कुनै नयाँ कुरा पाइँदैन । 

 

जिल्लामा क्रसर उद्योगलाई धाक, रवाफ देखाउने र आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न ‘डन’ परिचालन गर्ने व्यवसायका रूपमा पनि चित्रण गरिन्छ । तर, यस्ता आरोप दुराग्रह मात्र भएको क्रसर व्यवसायी विजय मण्डलले बताए ।