close

पर्यटकीय स्थल र आन्तरिक स्रोत व्यवस्थापनबाट आम्दानी बढाउँदै सूर्योदय

पर्यटकीय स्थल र आन्तरिक स्रोत व्यवस्थापनबाट आम्दानी बढाउँदै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम– संविधानले स्थानीय तहलाई आवश्यक स्रोत–साधन परिपूर्ति गर्न वित्तीय समानीकरण, ससर्त, समपुरक र विशेष अनुदान संघ तथा प्रदेश सरकारबाट दिने व्यवस्था गरेको छ । तर, यसरी उपलब्ध गराएको बजेटले मात्रै पालिकाको समग्र विकासका लागि स्रोत अपुग हुने भएपछि राजस्वको अधिकारसमेत दिइएको छ । इलामको सूर्योदय नगरपालिकाले राजस्व परिचालनको दायरा फराकिलो बनाएर आन्तरिक स्रोत व्यवस्थापन गर्दा साढे चार वर्षमा वार्षिक ८ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । 

 

नेपालका स्थानीय निकायले राजस्व अधिकारको उपयोग लामो समयदेखि गर्दै आए पनि आन्तरिक स्रोत परिचालनको अवस्था कमजोर थियो । २०७४ मा जनप्रतिनिधि चयन भएर आउँदा इलामको सूर्योदय नगरपालिकाले आन्तरिक स्रोतबाट वार्षिक आम्दानी ३७ लाख मात्रै गर्दथ्यो । तर, अहिले वार्षिक ८ करोड रुपैयाँ आम्दानी छ । राजस्व परामर्श समिति गठन गरेर नगरपालिकाले आम्दानीको स्रोत खोजी ग¥यो । संविधानले दिएको अधिकारअनुसार नगरपालिकाले स्थानीय कर, सेवाशुल्क दस्तुर, पर्यटन शुल्क, सवारी साधन कर, विज्ञापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), मनोरञ्जन गरी ८ प्रकारका कर उठाउँदै आएको छ । 

 

नगरपालिकाले सम्पत्तिसँग जोडिएका स्थानीय करअन्तर्गत पर्ने पाँच किसिमका कर पनि लिँदै आएको छ । यसमा सम्पत्ति कर, घर वहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, भूमि मालपोत कर लिँदै आएको छ ।

 

८ प्रकारका कर र सम्पत्तिसँग जोडिएको ५ प्रकारका बाहेक नगरपालिकाले राजस्वअन्तर्गत गैरकर पनि लिँदै आएको छ । यी करमा पर्यटन शुल्क, सेवाशुल्क दस्तुर, दण्ड जरिमाना रहेका छन् ।

 

नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरेसँगै आन्तरिक स्रोत बढेको छ । विभिन्न क्षेत्रमा लगानी बढाउँदै जाँदा त्यसको प्रतिफल आम्दानीमा जोडिन पुग्यो । मूलतः संघ र प्रदेशको भरमा मात्रै स्थानीय तह चल्नुहुँदैन भन्ने अठोट लिएर जनप्रतिनिधिले काम गर्दा अहिले नगरपालिका गौरवका योजनादेखि नगरको विकास गर्न सक्षम भएको नगरपालिका प्रमुख रणबहादुर राई बताउँछन् ।


यीबाहेक नगरपालिकाले पर्यटकीय स्थलमा रहेका पसल, स्टलबाट र श्रीअन्तुको भ्यू टावरबाट सूर्योदय हेर्न आउने पर्यटकसँग प्रवेश शुल्क लिने गरेको छ । हाट बजारबाट कर लिँदा आम्दानीको स्रोत र दायरा फराकिलो बन्दै गएको छ । राजस्व सुधार नगरी र नागरिकलाई कर तिर्दाको फाइदाबारे अभिमुखीकरण नगरी यो सम्भव पक्कै थिएन । त्यसैले नगरपालिकाले आयस्रोत बढाउन राजस्व सुधारको कार्ययोजना नै बनाएर लागू गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले जानकारी दिए ।


 
नगरपालिकाको आन्तरिक अर्थतन्त्रमा गतिशीलता आउँदा निजी, सहकारी र सामुदायिक क्षेत्रबीच  सहकार्य निर्माण भएको छ । यसले राष्ट्रिय पुँजी निर्माण गर्ने मात्र नभई २०८० सम्ममा ९ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने १५ औँ राष्ट्रिय योजनामा इँटा थप्ने काम गरेको छ ।