close

बालेनलाई विद्युत् प्राधिकरणको 'काउन्टर' : बक्यौता २ अर्ब कहिले तिर्ने ?

बालेनलाई विद्युत् प्राधिकरणको 'काउन्टर' : बक्यौता २ अर्ब कहिले तिर्ने ?

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणलाई कर नतिरेको भन्दै तिर्न ताकेता गरे पनि महानगरले अर्बौं महशुल तिर्न बाँकी रहेको पाइएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म काठमाडौं महानगरपालिकाले विद्युत् महशुल तिरेको छैन ।

सडकबत्तीको महशुल महानगरपालिकाले तिर्नुपर्ने सम्झौता भए पनि आव ०७३/०७४ यता नतिरेको प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुईटेलले पालिका खबरलाई बताए । 

सबै स्थानीय तहबाट करिब ५ अर्ब विद्युत् महशुल उठाउन बाँकी रहेकोमा काठमाडौं महानगरपालिकाले मात्र करिब २ अर्ब तिर्न बाँकी रहेको प्राधिकरणले पालिका खबरलाई जानकारी दिएको छ । 

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बादेन्द्र साहले सामाजिक सञ्जालमा यस्तो 'स्टाटस पोस्ट' गरेका थिए :

काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।

१. काठमाडौ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।

२. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।

३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।

४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ/रहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।

५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।