close

‘फुटपाथ व्यवसायबाट गुजारा चलाउँथेँ, बालेन सरकारले लुट्यो’

‘फुटपाथ व्यवसायबाट गुजारा चलाउँथेँ, बालेन सरकारले लुट्यो’

Trulli
ADVERTISEMENT

काठमाडौं । दोलखाकी कृष्णमाया तामाङ उमेरले ६ दशक पार गर्नै लागिन् । तर,अझै उनमा परिवार पाल्ने जिम्मेवारी छ । काठमाडौंंको सुन्धारामा लामो समयदेखि फुटपाथ पसल सञ्चालन गर्दै आएकी उनी अहिले कामविहीन छिन् । 

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (बालेन)ले फुटपाथ क्षेत्रमा व्यापार गर्न रोक लगाएसँगै उनी बेरोजगार बनेकी हुन् । 

‘मेरो कमाइ गर्ने ठाउँ नै फुटपाथ थियो । त्यो पनि महानगरपालिकाले लुट्यो,’ उनले भनिन्, ‘योबाहेक मसँग अरू विकल्प छैन । भारी बोक्नका लागि शक्ति पनि छैन ।’ 

दोलखाको गाउँमा हुर्के पनि काठमाडौं सहरमै बाँच्न सिकेको बताउँदै उनले भनिन्, ‘विगत ३० वर्षदेखि सुन्धाराको फुटपाथमा कपडा बेच्दै आएकी थिएँ । साँझ–बिहान दुई घण्टा व्यवसाय गर्थेँ ।’ फुटपाथबाट कमाएको पैसाबाटै परिवारको हातमुख जोड्दै आएको उनले बताइन् ।

‘श्रीमान्लाई महिनाको ३५ सयको औषधि खुवाउनुपर्छ । यही व्यवसायबाट औषधिका लागि पैसा जोहो गर्दै आएकी थिएँ, अब कहाँबाट ल्याउने हो,’ भावुक हुँदै उनले पालिकाखबरसँग भनिन् । 

लामो समयदेखि फुटपाथ व्यवसाय गरे पनि अहिलेसम्म कुनै समस्या नआएको उनले बताइन् । तर, मेयर बालेन आएपछि रोजीरोटी लुटेको आरोप उनले लगाइन् । आफ्नो रोजीरोटी लुटिए पनि बालेनले राम्रो काम गरेको उनको स्वीकारोक्ति थियो । 

‘बालेनले राम्रो काम गरेको हो । एकैपटक यस्तो निर्णय नगरेको भए हुन्थ्यो । हामीजस्तो गरीबको पेटमा लात हानेजस्तै भयो,’ उनी थप्छिन्, ‘हामी पनि यही देशका नागरिक हौँ । हामी पनि बाँच्नुपर्छ । उनले एकैपटक हामीमाथि अन्याय हुने निर्णय गरे ।’

यस्तै, काठमाडौंंकै फुटपाथमा व्यवसाय गरेर सन्तानको सुनौलो भविष्य कोर्दै आएका थिए फुटपाथ व्यवसायी रामलाल साह । उमेरले पाँच दशक टेकेका साहले सानै उमेरदेखि काठमाडौंलाई नजिकबाट नियाल्ने मौका पाए । 

‘सानैमा बुबाको निधन भयो । बुबाको निधनपछि पढाइलार्ई निरन्तरता पनि दिन पाइनँ,’ उनले भने, ‘अनि साथीको साथमा काठमाडौं पसेँ । यही मजदुरी गरेर केही कमाइ गरेर फुटपाथ व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको थिएँ ।’

दुई सन्तान र श्रीमतीको साथमा काठमाडौंमा डेरा लिएर बस्दै आएका उनले भने, ‘यही फुटपाथबाट मेरा सन्तानको भविष्य कोर्दै आएको थिएँ । बालेन सरकारले लुट्यो ।’

आफूले विगत ३० वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा फुटपाथ व्यवसाय सञ्चालन गर्दै आएको उनले सुनाए । ‘कहिले ठेलामा फुलफूल बेचेँ । कहिले लुगा बेचेँ,’ उनले थपे, ‘यसैले हामी चार जनाको पेट पालिएको थियो । 

महानगरले फुटपाथको सट्टामा विकल्प दिनुपर्ने उनी बताउँछन् । ‘हामीलाई महानगरपालिकाले व्यापार गर्न ठाउँ दिन नसके निश्चित समय त दिन सक्छ नि !’ दुःखेसो गर्दै उनले भने, ‘तर, महानगरपालिकाले अनागरिकको व्यवहार गर्‍यो ।’ 

महानगरपालिकाले आफूखुसी फुटपाथ व्यवसायी हटाएको उनले बताए । ‘कहिले सामान उठाएर लैजानु हुन्थ्यो । कहिले लौरो लिएर लखेट्न आउनुहुन्थ्यो । उठाएको सामान फिर्ता गर्नुहुन्न,’ उनले भने, ‘सामान फिर्ता गरे पनि हामीलाई केही सहज हुन्थ्यो ।’ 

यसअघि महानगरले पटक–पटक उठाएर लगेको सामान कहिल्यै फिर्ता नगरेको भनी उनले दुःखेसो गरे । 

‘महानगरले एकपटक २० हजारको सामान उठाएर लग्यो । त्यो पनि फिर्ता भएन । पुनः सापटी लिएर पुनः व्यवसाय गर्न थालेँ,’ उनले भने । 

रहरले नभई बाध्यताले फुटपाथ व्यवसाय गरेको बताउँदै उनले भने, ‘बिहान–बेलुका मात्रै फुटपाथमा व्यापार गर्थेँ । हामीसँग अरू विकल्प पनि थिएन÷छैन । जागिर गरूँ सानोमा पढ्न पाइन्नँ । पसल राखौँ पुँजी छैन ।’ 

महानगरपालिकाले फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने उनीहरू बताउँछन् । दशैँ तिहारजस्ता चाडपर्वको पूर्वसन्ध्यामा व्यवसायबाट हटाएर महानगरले गल्ती गरेको रामेछापका श्याम मानन्धरले बताए । आफूले विगत २५ वर्षदेखि बानेश्वरको फुटपाथमा जुत्ता पसल सञ्चालन गर्दै आएको उनी बताउँछन् । 

‘फुटपाथमा व्यवसाय गरेरै परिवार पाल्दै आएको थिएँ । अब त्यो पनि महानगरपालिकाले लग्यो,’ उनले भने, ‘गाउँमा कृषि गर्न मल छैन । काठमाडौं बसौँ रोजगार छैन ।’ 

महानगरपालिकाले फुटपाथमा व्यवसाय गर्न नदिए विकल्प दिनुपर्ने उनको माग छ । आफूहरूलाई महानगरले व्यवसाय गर्नका लागि निश्चित समय उपलब्ध गराउनुपर्ने उनको माग छ । 

महानगरपालिकाले फुटपाथ व्यवसायी हटाए पनि केही समय उपलब्ध गराउनुपर्ने व्यवसायी मानन्धरको माग छ । ‘हामी गरीब छौँ । हाम्रो पनि चाडपर्व छ । तर, दशैँतिहारको मुखमा हाम्रो रोजीरोटी खोसियो,’ उनले भने, ‘दशै तिहारपछि हटाएको भए हाम्रो चित्त दुख्ने थिएन ।’

फुटपाथ व्यवसायीलाई हटाएपछि नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार महानरपालिका कार्यालय घेराउ गरेको छ । 

संघका टोलीले नगरप्रमुख साहलाई भेट्न गए । तर, नगरप्रमुख भेटेनन् । अन्तत: संघका टोलीले प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएर फर्किए । संघका सचिव मेनुका केसीले मेयर साहले आफूलाई फुटपाथबाट हटाएर जिम्मेवारीबाट हट्न खोजेको आरोप लगाइन् । 

‘हामीले तीन दिन अघिदेखि उहाँ (मेयर) लाई जानकारी दिएका थियौँ । तर, ज्ञापनपत्र लिन आउनुभएन,’ उनले भनिन्, ‘हामीलाई नगरप्रमुख साहले दोस्रो दर्जाको नागरिकका रूपमा लिनुभयो ।’