close

पौने २ करोडको खसी बराहपोखरीबाट काठमाडौँ निर्यात

पौने २ करोडको खसी बराहपोखरीबाट काठमाडौँ निर्यात

Trulli
ADVERTISEMENT

खोटाङ- दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले ८७५ खसी काठमाडौँ पुर्याएका छन् ।

एउटा खसीको औसत मूल्य २० हजार भित्रिँदा एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिए । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए । 

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले पाँच/छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए । 

कतिपय खसी यही कातिक १ गते बिहान र कतिपय खसी कातिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिए । कतिपय किसानले आफैं उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ ।