close

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

Trulli
ADVERTISEMENT

लमजुङ- अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । 

आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । 

गत वर्ष ३८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी भएको थियो । आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् । 

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी भएको थियो । उक्त वर्ष ९५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए । 

आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । त्यस्तै आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी  बढी आम्दानी गरेका छन् । २७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार २५० रुपैयाँ आम्दानी गरेको उनले बताए । उनका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब दुई लाखमात्र आम्दानी गरेका थिए । 

जिल्लाभरिका अधिकांश किसानले एक हजार २०० मा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार ३५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलैँची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो ।
 
जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ ।