close

नदीजन्य पदार्थको बिक्रीका लागि दुई पटकसम्म पनि आवेदन नपरेपछि

नदीजन्य पदार्थको बिक्रीका लागि दुई पटकसम्म पनि आवेदन नपरेपछि

Trulli
फाइल फोटो ।
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाले अमानत विधिबाट नदीजन्य पदार्थको बिक्री वितरण गर्ने भएको छ । दुई पटकसम्म गाउँपालिकाले बोलपत्र आह्वान गर्दा कसैको पनि आवेदन नगरेपछि अमानत विधिबाट बिक्री वितरण गर्न लागेको हो । 

गाउँपालिकाले नदीजन्य पदार्थको बिक्री वितरणका लागि पहिलोपटक मंसीर ८ गते र दोस्रोपटक पुष १९ गते सूचना जारी गर्दै विद्युतीय माध्यमबाट नदीजन्य पदार्थको संकलन, ओसारपसार तथा बिक्री वितरणका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक गाउँपालिकाले माघ ५ गतेको अन्तिम मिति तोक्दै बोलपत्र आह्वान गरेको थियो । 

तर दुबै पटक कुनैपनि आवेदन नपरेपछि गाउँपालिकाको गत सोमबार बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८०/८१ मा अमानत विधिबाट नदीजन्य पदार्थको बिक्री वितरण गर्ने निर्णय गरेको हो ।  

सेती नदी किनारको झिरलौदी घाट र फूलबारी थाङ्दी घाटमा गाउँपालिकाले अमानत विधिबाट नदीजन्य पदार्थ संकलन, ओसारपसार तथा बिक्री वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

सो क्षेत्रमा अब व्यक्तिले गाउँपालिकाका कर्मचारीलाई प्रदेश सरकारले तोकेको न्युनतम शुल्क तिरेर नदीजन्य पदार्थ संकलन गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । फागुन १ गतेबाट ट्याक्टर व्यवसायीले गाउँपालिकामा आवेदन दिइ नदीजन्य पदार्थ संकलन गर्न सक्नेछन् ।

प्रति घनमिटर ३६४ रुपैयाँका दरले राजश्व बुझाएर झिरलौदी घाट र फूलबारी थाङ्दी घाटमा आइइई प्रतिवेदनले तोकेअनुसार नदीजन्य पदार्थ संकलन गर्न सक्ने उनले पालिकाखबरसँग बताए ।