close

१० दिने लालबन्दी महोत्सव हुँदै : ५० हजार सहभागी हुने अपेक्षा

१० दिने लालबन्दी महोत्सव हुँदै : ५० हजार सहभागी हुने अपेक्षा

Trulli
ADVERTISEMENT

सर्लाही- कृषि उत्पादन, सांस्कृतिक तथा धार्मिक पर्यटन र स्वरोजगारलाई प्राथमिकता दिँदै १० दिने लालबन्दी महोत्सव हुने भएको छ । 

स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित उद्योग वाणिज्य संघको आयोजना तथा लालबन्दी नगरपालिकाको सहकार्यमा फागुन १० गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागिएको नगरपालिका नगरप्रमुख वासुदेव अधिकारीले बताए । नगरप्रमुख अधिकारीका अनुसार कृषि उपजको बजारीकरण, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै बजारलाई चलायमान गरी रोजगारी बढाउने महोत्सवको उद्देश्य रहेको छ । नगरपालिकाको आग्रह र आर्थिक सहयोगमा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुन लागेको हो । 

महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यसहित आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले बुधबार नगरभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सामाजिक संघसंस्थाका पदाधिकारीसँग छलफल गरेको छ । सहभागीले महोत्सव सफल पार्न आ-आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका छन्‌ ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीको अध्यक्षतामा आयोजित छलफलमा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, नगरभित्र क्रियाशील विभिन्न दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ । १० दिनसम्म आयोजना हुने महोत्सवमा ५० हजार जना सहभागी आउने अपेक्षा गरिएको छ । महोत्सवमा उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यापारीलाई स्टल राख्दा सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ स्टल शुल्क निर्धारण गरिएको छ । महोत्सवमा मनोरञ्जनस्वरुप स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण
गरेको छ ।