close

बिहानैदेखि राहत र उद्धार कार्य जारी

बिहानैदेखि राहत र उद्धार कार्य जारी

Trulli
ADVERTISEMENT

उदयपुर । आज पनि जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पीडितहरूको उद्धारसँगै थप राहत वितरणलाई निरन्तरता दिइरहेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार आज पनि राहत र उद्धार कार्यक्रम निरन्तर रुपमा चलिरहेको हो ।

नेपाली सेना, प्रहरी, रेडक्रस, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी यादवले पालिका खबरलाई बताए । आफू पनि परराष्ट्रमन्त्रीसहित अनुगमनको क्रममा प्रभावित क्षेत्रमै रहेको उनले बताए । 

प्रजिअ यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ । बिहीबार बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा हजारौं घरपरिवार प्रभावित भएका हुन् । 

सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका घरपरिवार विस्थापित भएका हुन् । विस्थापित भएकाहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ । कोही भने आफन्तका घरमा गएका छन्।

बिहीबार बिहान बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु–चिलिया बस्तीतर्फ पस्न सुरु गरेको थियो । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार मानवीय क्षति भएको छैन । २०४५ सालमा कोशीले धार परिवर्तन गरेर बस्तीमा बाढी पस्दा सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर र रामनगरका स्थानीय विस्थापित भएका हुन् ।

बेलका नगरपालिका मेयर अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसेर बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरको संयोजकत्वमा खोज, राहत तथा पुनर्स्थापना समिति गठन गर्ने निर्णय समेत भएको छ ।

बाढीबाट प्रभावितहरूको स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई हिजै निर्देशन दिइसकेका छन् । उदयपुरका प्रजिअ यादवका अनुसार ५० मिटर बाँध नदीले कटान गर्दा बस्ती डुबानमा पर्नुका साथै स्थानीय विस्थापित भएका हुन् ।