close

महालक्ष्मी नगरमा बाहेक ललितपुरका सबै विद्यालय खुले

महालक्ष्मी नगरमा बाहेक ललितपुरका सबै विद्यालय खुले

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाले कोरोना संक्रमणका कारण बन्द विद्यालय खोल्न अनुमति दिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।


बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने अधिकार व्यवस्थापन समितिलाई दिन गरेको प्रस्ताव अनुमोदन भएको छ ।

 

उनले विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय संचालन कार्यविधि अपनाउन समेत निर्देशन दिए । नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।


बैठकले स्वास्थ्यविज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।


बैठकमा उपप्रमुख गीता सत्यालले व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने भएकाले विद्यालय कहिले र कसरी खोल्ने निर्णय समितिलाई दिँदा त्यो प्रभावकारी हुने स्पष्ट पारिन् । उनले भनिन्, ‘विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ , त्यसको अनुगमन महानगरपालिकाले गर्छ ।’


महानगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडाध्यक्ष  दिनेश कार्कीले विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिँदा प्रभावकारी हुने भउकोले सोही अनुसार निर्णय भएको बताए ।

बैठकमा प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि सहभागी थिए । ललितपुर महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय ५० विद्यालय छन् । ती मध्ये ४० वटा सामुदायिक विद्यालय छन् ।

 

गोदावरीमा पनि खुल्यो


गोदावरी नगरपालिकाले पनि ११ मंसिरमै पठनपाठन सुरु गर्ने निणृय गरेको छ । नगरको निर्णय अनुसार नगरभित्रका विद्यालयमा पठन पाठन सुरु भएको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए ।


बागमतीमा पनि खुले


बागमती गाउँपालिकाले कोभिड महामारीपछि बन्द रहेका विद्यालय संचालन गर्न अनुमति दिएको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाभक संघ, वडा कार्यालय र वडाभित्र रहेका स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानी र समन्वयमा पढाइ सुरु भएको गाउँपालिका शिक्षा अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।


४८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाउदै र वरिपरिको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अध्ययन अध्यापन भइरहेको उनले बताए ।


कोञ्ज्योसोम र महाँकालमा धमाधम पढाइ


कोञ्ज्योसोम गाउँपालिकामा पनि कोरोना भाइरसका संक्रमित नरहेकाले स्वास्थ्य मापदण्डका साथ अध्ययन अध्यापन भइरहेको गाउँपालिकाका सुचना अधिकारी चित्रदेव दाहालले बताए ।

 

महाङ्कालमा गाउँपालिकाले पनि ११ मंसिरमा विद्यालय खोल्ने निर्णय गरेपछि धमाधम पढाइ भइरहेको शिक्षा शाखाका प्रमुख ओम प्रकाश जोशीले बताए ।  महाँकालमा २६ सामुदायिक र १ संस्थागत गरी २७ विद्यालय छन् ।


महालक्ष्मीमा अन्योल

 
महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरन्जीवी पौडेलले विद्यालय संचालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको बताए । शिक्षा शाखाको बैठक बसी निर्णय गरेर सोहीअनुरुप सम्बन्धित विद्यालयहरुलाई निर्देशन गरिने उनको भनाइ छ । महालक्ष्मीमा ४४ संस्थागत र १५ सामुदायिक विद्यालयहरु छन् ।