close

स्थानीय भाषा पढाउँदैै कोञ्ज्योसोम

स्थानीय भाषा पढाउँदैै कोञ्ज्योसोम

Trulli
ADVERTISEMENT

ललितपुर- स्थानीय तहभित्र बोलिने मातृभाषाबारे जागरण गराउने उद्देश्यका साथ ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले ५ दिने स्थानीय भाषा नीति तथा मातृभाषा शिक्षा कार्यक्रम सुरु गरेको छ ।

 

‘मातृभाषा तथा स्थानीय विषयमा शिक्षा,गुणस्तरीय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता’ नारासहित मंगलबारबाट सुरु भएको कार्यक्रम ७ चैतसम्म सञ्चालन हुनेछ । 

 

गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकाभित्र रहेका स्थानीय भाषा र मातृभाषालाई प्राथमिकता दिँदै उक्त भाषालाई स्थानीय पाठ्यक्रममा लागु गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

 

पाठ्यपुस्तकको २० प्रतिशत पाठ्यक्रम स्थानीय सरकारले तयार गर्ने व्यवस्था गरेअनुरूप लगभग ८० प्रतिशत तामाङ जातिको बाहुल्य रहेको कोञ्ज्योसोममा लोप हुन लागेको तामाङ भाषा, लिपि, संस्कृति संरक्षण र नयाँ पुस्तालाई शिक्षाकै रूपमा जागरुक बनाउने उद्देश्यले गाउँपालिकाले भाषा आयोगसँगको सहकार्य र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको समन्वयमा उक्त कार्यक्रम सुरु गरेको अध्यक्ष सिंतानले बताए । 

 

गाउँपालिका उपाध्यक्ष मिंग्मा लामाले आर्थिक वर्ष २०७७/७८ मै बजेट समावेश गरी स्थानीय भाषा प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिएको बताइन् । तामाङ भाषालाई संरक्षण गर्दै अन्य जातिगत भाषालाई पनि उत्तिकै महत्त्व दिएर लागू गरिने उनको भनाइ छ ।

 

गाउँपालिकाका शिक्षा शाखा संयोजक विष्णुप्रसाद आचार्यले प्रारम्भिक कक्षामा विद्यार्थीले आफ्नै मातृभाषा पढ्न पाउने सरकारको नियमलाई कार्यान्वयन गर्न पालिका र तामाङ घेदुङसँगको सहकार्य र संयोजनमा नीति बनाई गाउँपालिकामा रहेका १७ वटै विद्यालयमा स्थानीय मातृभाषाको पाठ्यक्रम लागू गरिने बताए । 

 

मंगलबार पालिकाका कार्यपालिका सदस्य र सबै विद्यालयका प्रधानाध्यापकसँग उक्त विषयमा छलफल सम्पन्न भएको छ भने बुधबारबाट सबै विद्यालयका इसिडी शिक्षक र थप १ शिक्षक प्रतिनिधिसँग स्थानीय मातृभाषा शिक्षा पाठ्यक्रम नीति निर्माण तथा कार्यान्वयनको विषयमा छलफल गरियो । 

 

कोञ्ज्योसोमको अर्थ 

 

८० प्रतिशत तामाङ समुदाय बसोबास रहेको र साविकका ५ वटा गाविस मिलाएर बनाइएको कोञ्ज्योसोम गाउँपालिकाको नाम पनि तामाङ भाषाबाटै राखिएको छ ।

 

कोञ्ज्योसोमको अर्थ भगवान् बुद्ध र बुद्धका ज्ञान, दर्शन, वचन र शिक्षालाई प्रचार गर्नेसँग सम्बन्धित छ । बुद्धरत्न, धर्मरत्न र शंखरत्नको समष्टि रूप नै कोञ्ज्योसोम हो ।

 

भगवान् बुद्धको शिक्षा, वचन, ज्ञान, उपदेशलाई बुद्धरत्नको रूपमा लिइन्छ भने धर्मरत्न भनेको स्वयं भगवान् बुद्ध वा बौद्धिक आस्थाका प्रतीक हुन् । शंखारतना भनेको विश्वभर बुद्ध धर्मको प्रचार-प्रसार र विकास गर्ने संघ-संगठन हुन् ।

 

३ वटा रत्नको समष्ट कोञ्ज्योसोमको त्रिमूर्तिसमेत गाउँपालिकाले भारदेउको गुप्तेश्वर क्षेत्रमा निर्माण गरिरहेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्‍

याउने गाउँपालिका प्रमुख सिंतानको विश्वास छ।