close

ललितपुरका शिक्षकलाई स्वेच्छिक अवकाशको अवसर

ललितपुरका शिक्षकलाई स्वेच्छिक अवकाशको अवसर

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पुगेका शिक्षकले स्वेच्छिक अवकाश लिन पाउने भएका छन् । नगर शिक्षा महाशाखाले सेवावधि कायम रहेका शिक्षकहरूले अवकाश लिन चाहे बाँकी अवधिका आधारमा विभिन्न सेवा– सुविधा प्रदान गरिने निर्णय गरेको हो । 

 

महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीका अनुसार २०७८ साउनपछि १ वर्ष सेवावधि बाँकी रहेका शिक्षकले अवकाश लिन चाहे अवकाशपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सोही अवधिसम्म २ वर्ष सेवावधि बाँकी रहेका शिक्षकले डेढ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

यसैगरी ३ वर्ष सेवावधि बाँकी रहेका शिक्षकहरूले स्वेच्छिक अवकाश लिन चाहे २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने आगामी साउनपछि ४ वर्ष सेवावधि बाँकी रहेका शिक्षकले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उक्त समयसम्म ५ देखि १० वर्ष सेवावधि बाँकी रहेका शिक्षकले अवकाश लिन चाहे ३ लाख रुपैयाँ प्राप्त गर्ने महाशाखाले जनाएको छ । 

 

नगर शिक्षा समितिले अवकाश लिन इच्छुक शिक्षकलाई १ महिनाभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरेको छ । महाशाखा प्रमुख क्षेत्रीले ५० वर्ष कटेका शिक्षकले अवकाश लिएर जाँदा नयाँ र आधुनिक प्रविधिसँग जोडिएका शिक्षक आउन सक्ने, शिक्षकलाई अन्यत्र सरुवा गर्नुभन्दा सीधै दरबन्दी मिलानलाई सहज हुने अपेक्षाका साथ स्वेच्छिक अवकाश व्यवस्था गर्न लागिएको जानकारी दिए । उनका अनुसार हाल महानगरभित्र ४० सामुदायिक विद्यालयमा सबै तहमा गरेर ७१८ जना शिक्षक कार्यरत छन् । 

 

यस्तै, गोदावरी नगरपालिकाले ल्याएको स्वेच्छिक अवकाशअन्तर्गत प्राथमिक तहका २४ जना शिक्षकले स्वेच्छिक अवकाश लिएका छन्, जसमा नगरपालिकाको आन्तरिक स्रोतबाट ४५ लाख ५० हजार रुपैयाँ खर्च भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले जानकारी दिए ।

 

नगरपालिकाले गत ८ माघको निर्णयअनुसार आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहका स्थाय शिक्षकमध्ये शिक्षा मन्त्रालयबाट पुनः वितरित शिक्षक दरबन्दी विवरणअनुसार प्राथमिक तहका लागि स्वीकृत दरबन्दीभित्र रहेका र पेन्सनका लागि सेवावधि पूरा गरेका शिक्षकमध्ये अग्रज शिक्षकको सम्मान र नयाँ क्षमताका शिक्षकको कदर गर्दै दरबन्दी मिलान प्रक्रियामा सहजीकरण गर्न यस्तो व्यवस्था गरिएको हो ।

नगरपालिकाले एक पटकका लागि मात्र स्वेच्छिक अवकाशमा जान चाहने शिक्षकलाई विशेष सुविधासहित गोल्डेन ह्यान्डसेक दिने निर्णय गरेको थियो । सोही प्रक्रियाअन्तर्गत २० वर्षे सेवावधि पूरा भएका र १ वर्षसम्म सेवावधि बाँकी रहेका शिक्षकले १ लाख, १ देखि २ वर्ष सेवावधि बाँकी रहेका शिक्षकले डेढ लाख र २ वर्षभन्दा माथि सेवावधि पूरा भएका प्राथमिक तहका शिक्षकले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । 


यस्तै, बागमती गाउँपालिकाले ल्याएको स्वेच्छिक अवकाश १ जना शिक्षकले मात्र लिएका छन् । गाउँपालिकाले आन्तरिक रूपमै दरबन्दी मिलान सम्पन्न गरिसकेको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार आन्तरिक दरबन्दी मिलानपछि प्राथमिक तहका शिक्षकले निम्नमाध्यमिक र माध्यमिक तहमा पनि अध्यापन गराउनुपरे २००० र २५०० रुपैयाँ बढी सुविधा पाउने निर्णय गरिएको छ । 

 

महाँकाल गाउँपालिकाले दरबन्दी मिलान कार्यदल गठन गरी गृहकार्य गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश जोशीले बताए । कोञ्ज्योसोम गाउँपालिकामा पनि दरबन्दी मिलानको कार्य अन्तिम चरणमा रहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

 

महालक्ष्मी नगरपालिकाले जारी गरेको स्वेच्छिक अवकाश कार्यक्रममा भने शिक्षकले खासै चासो नदेखाएको र नगरले बताएको छ । सबै स्थानीय तहमा दरबन्दी मिलानको काम सकिएपछि अब ललितपुरका शिक्षक दरबन्दीसहित अन्यत्र सरुवा भएर जानुपर्ने छैन ।