close

मन्टेश्वरी कक्षा चलाउँदै मालारानी 

मन्टेश्वरी कक्षा चलाउँदै मालारानी 

Trulli
ADVERTISEMENT

अर्घाखाँची– अर्घाखाँचीको मालारानी गाउँपालिकाले बाल विकास सञ्चालन भएका सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।
पालिकाले शिक्षिकालाई मन्टेश्वरीसम्बन्धी ५ दिने तालिम दिएको छ ।

 

शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न ५ दिनसम्म सञ्चालन गरिएको तालिम महत्त्वपूर्ण सहभागी शान्ति माध्यमिक विद्यालका सहजकर्ता सीता विकले बताइन् ।

 

‘बालबालिकालाई नवीनतम प्रविधि प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्न नयाँ ज्ञान हासिल भएको छ । मन्टेश्वरीसम्बन्धी लामो अबधिको तालिम आवश्यक छ । त्यसको व्यवस्थापन गरिदिनुपर्छ,’ उनले भनिन् ।

 

बाल विकासमा कार्यरत शिक्षिकालाई शिक्षण सिकाइ क्रियाकलापमा सहज बनाउन तालिम आयोजना गरिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । 

 

‘मन्टेश्वरीसम्बन्धी विज्ञलाई निम्त्याएर तालिम सम्पन्न गरेका छौँ । मन्टेश्वरी कक्षा सञ्चालनका लागि आवश्यक साम्रग्रीसमेत पालिकाले उपलब्ध गराउनेछ,’ उनले भने, ‘बाल विकास सहजकर्तालाई तीन महिने तालिमसमेत आयोजना गरेर सीप परीक्षण गरिनेछ ।’ 

 

शिक्षा क्षेत्रमा परिवर्तन गर्न पालिकाले गरेका अभ्यास अन्य स्थानीय तहका लागिसमेत अनुकरणीय रहेको प्रमुख प्रशिक्षक लाभेन्डर प्रि–स्कुलकी संस्थापक लिबिया लामाले बताइन् ।

 

‘मैले धेरै ठाउँमा प्रशिक्षण दिने अवसर पाएँ तर यो पालिकामा कार्यरत बाल विकास सहजकर्ता उत्साहित र जनप्रतिनिधि पनि शिक्षा क्षेत्रमा केही गरौँ भन्ने भावनाका रहेछन् । शिक्षा क्षेत्रको सुधारका लागि मालारानीले जस्तै अन्य स्थानीय तहले समयमै सोच बनाउन जरुरी छ,’ उनले भनिन् । 


स्थानीय सरकार बनेपछि गाउँपालिकाले शिक्षा क्षेत्रमा नमुना अभ्यास गरेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको पालिकाले अहिले ९ वटै वडामा समेत नमुना बाल विकास दरबन्दी व्यवस्था गरेको छ ।

 

यस्तै, प्राविधिक शिक्षा पढ्ने पालिकाका विद्यार्थीलाई छात्रवृत्ति र भेटेरिनरी र जेटिए गरेर आफ्नै व्यवसाय सुरु गरेका व्यवसायीलाई प्रोत्साहनस्वरूप प्रतिमहिना ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।


स–साना बालबालिकाले अहिलेको प्रविधिसँगै खेल्दै, पढ्न सकून् र शिक्षकलाई पनि नयाँ प्रविधिबारे जानकारी होस् भनेर मन्टेश्वरी तालिम आयोजना गरिएको पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताइन् । 


पालिकाभित्रका ७२ बाल विकासका सहजकर्ता तालिममा सहभागी भएकोे प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिए ।
‘९ वटै वडामा एक–एक वटाका दरले नमुना बाल विकास केन्द्र स्थापना गरेका छौँ । उनीहरूसहित पालिकाभित्र कार्यरत ७२ बाल विकास सहजकर्तालाई तालिम दिएका हौँ,’ उनले भने ।