close

केन्द्र परिवर्तनको विरोधमा विद्यार्थीले दिए परीक्षा वहिष्कारको चेतावनी

केन्द्र परिवर्तनको विरोधमा विद्यार्थीले दिए परीक्षा वहिष्कारको चेतावनी

Trulli
ADVERTISEMENT

जुम्ला– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै जुम्ला बहुमुखी क्याम्पस जुम्लाका परीक्षार्थीले असन्तुष्टि जनाएका छन् । 

 

परीक्षा नियन्त्रणले ११ असोजका लागि परीक्षा मिति तोकेको छ । परीक्षा मिति तोकेको ५ दिनअघि मात्रै ६ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक भएपछि विद्यार्थीले विरोध गरेका हुन् । 

 

जुम्ला बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको दोस्रो वर्षको वार्षिक परीक्षा दिने १२ जना विद्यार्थी छन् । उनीहरूले बरु परीक्षा नै वहिष्कार गर्ने तर परीक्षा नियन्त्रण कार्यालय बल्खुले तोकेको परीक्षा केन्द्र सुर्खेत शिक्षा क्याम्पसमा नजाने बताए । 


परीक्षार्थी लक्ष्मी परियारले भनिन्, ‘४ दिन पछि ११ असोजदेखि परीक्षा मिति तोकिएको छ । तर, ७ असोजमा परीक्षा केन्द्र सारिएको सूचना सार्वजनिक हुन्छ । यसले हामीलाई पीडामा पारेको छ ।’ 

 

बर्खाका बेला सडक पनि राम्रो नभएको र पहिरोले अवरुद्ध गरेकाले सुर्खेत जान नसकिने उनको भनाइ छ । उनले भनिन्, ‘संघीयतापछि पनि दुर्गमका विद्यार्थीलाई अन्याय गरिएको छ । जुम्ला क्याम्पसमै परीक्षा केन्द्र तोकिनुपर्दछ ।’ 

 

छोटो समयको सूचनाका कारण सबै विद्यार्थीले जानकारी पाएका छैनन् । परीक्षा फाराममा जुम्ला केन्द्र भनेर भरिए पनि परीक्षा केन्द्र सुर्खेत तोकिनु गलत भएको उनको भनाइ छ । 


जुम्ला बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाशचन्द्र खत्रीले संघीयतापछि पनि मानसिकता केन्द्रीकृत नै रहेको बताए । ‘यसले संघीयताको अधिकार उल्लघंन गरेको छ’, उनले भने, ‘परीक्षार्थीको सहजताका लागि अध्ययन गरेकै क्याम्पसमा परीक्षा केन्द्र तोकिनु उपयुक्त हुन्छ ।’ 


जुम्ला बहुमुखी क्याम्पस प्रमुख ओम आचार्यका अनुसार परीक्षा केन्द्र परिवर्तनका विषयमा परीक्षार्थीबाट गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी गराए पनि अहिलेसम्म कुनै निर्णय आइसकेको छैन । 


‘भौगोलिक रूपमा पनि जुम्लाबाट सुर्खेत गएर परीक्षा दिन कठिनाइ भएको जानकारी केन्द्रमा गराएका छौँ’, उनले भने, ‘थोरै विद्यार्थी भएकाले परीक्षा केन्द्र मर्ज गरी जुम्लाको परीक्षा केन्द्र सुर्खेत तोकिएको हो भन्ने मात्र बुझिएको छ ।’