close

जुम्लामा प्राविधिक धारतर्फका विद्यार्थीले बुझाए प्रजिअलाई ज्ञापन

जुम्लामा प्राविधिक धारतर्फका विद्यार्थीले बुझाए प्रजिअलाई ज्ञापन

Trulli
ADVERTISEMENT

जुम्ला–पछिल्लो समय जुम्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) मार्फत अनुमति लिएर प्राविधिकतर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराइँदै आएको छ ।  यसअघि नेपालकै पहिलो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धारतर्फका विषय मात्रै पठनपाठन हुने गरे पनि पछिल्लो समय दुई दर्जन बढी सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फका विषय पढाइ हुने गरेको छ । 

 


घर नजिकै सामुदायिक विद्यालयमै प्राविधिक धारतर्फका विभिन्न विषयमा पढ्न पाइने भएपछि हर्षित भएका जुम्ली विद्यार्थीले छोटो समयमै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक धारतर्फका विद्यार्थीले पठनपाठनमा लापर्वाही हुँदै आएको गुनासो गरेका छन् ।

 

 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ४ भदौ ०७७ मा गरेको निर्णयअनुसार कोरोना संक्रमण प्रभावित विद्यार्थीलाई १५ प्रतिशत छुट दिन परिपत्र तथा सूचना जारी गरे पनि छुट नदिएको ज्ञापनपत्रमा उल्लेख छ । गुणस्तरीय शिक्षा नभएको, कोरोना संक्रमणका बेला आन्तरिक तथा प्राविधिक विधिबाट परीक्षा हुनुपर्ने, ३ महिनाभित्र परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने माग उनीहरूले गरेका छन् । 


प्राविधिक धारतर्फ ८० प्रतिशत अभ्यास शिक्षण हुनुपर्ने हो । तर, यहाँका प्राविधिक धारका विद्यालयले अभ्यास शिक्षणको कुनै काम नगरेको भन्दै विद्यार्थीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्राविधिकतर्फको ३ वर्षे पाठ्यक्रमलाई ५ वर्षेसम्म पु¥याउने निर्णयप्रति विद्यार्थीले गुनासो गरेका छन् । विषय विशेषज्ञ पूर्ण अवधिका शिक्षक नराखी पार्ट टाइम शिक्षक राख्ने गरेकाले पनि प्राविधिक धारतर्फको पठनपाठन गुणस्तरीय र प्रभावकारी नभएको उनीहरूको दाबी छ । 

 


कुनै विषयमा शिक्षक तथा व्यवस्थापकसँग अध्यास शिक्षण, पठनपाठन, शुल्कलगायतमा गुनासो गर्दा अभ्यास शिक्षणमा दिने नम्बरमा तलमाथि गरिनेजस्ता धम्की खेप्दै आएको विद्यार्थीले बताए । प्राविधिक धार पठनपाठन गर्ने विद्यालय जुम्लामा धेरै भए पनि गुणस्तर नभएको विद्यार्थीको गुनासो छ । कुनै पनि निकायले अनुगमन गर्ने र प्राविधिक शिक्षामा सुधार ल्याउने चासो नदेखिएको विद्यार्थीको भनाइ छ । 

 


कर्णाली मावि अनामनगरमा सर्वे, चन्दननाथ माध्यमिक विद्यालयमा फरेस्टी र बाली विज्ञान, त्रिभुवन मावि झारज्वालामा बाली विज्ञान, जनता मावि महतगाउँमा फरेस्टी प्राविधिक धारको विषय पठनपाठन हँुदै आएका छन् । यस्तै, सरस्वती मावि रिनीमा बाली विज्ञान, कनकासुन्दरी मावि लुड्कुमा बाली विज्ञान, भैरव मावि नराकोटमा बाली विज्ञान, मालिका मावि धापामा ओभरसियर, हिमशिखर मावि तातोपानीमा ओभरसियर प्राविधिक धारका विषय पठनपाठन हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी प्रसार्इंले प्राप्त ज्ञापनपत्र सिटिईभिटीका प्रदेश र संघीय कार्यालयमा पठाइने बताइन् ।