close

छोरी–बुहारी शिक्षाले चिनाउँदै सूर्योदय  

छोरी–बुहारी शिक्षाले चिनाउँदै सूर्योदय  

Trulli
ADVERTISEMENT

इलाम- उमेर पुग्यो, लगन जुर्‍यो, विवाह भयो । अनि विवाहपूर्व पढिरहेकी चेली विवाह गरेर घर गएपछि पढ्न नपाउनू ? बुहारीले काम मात्र गर्नुपर्ने कि पढ्न पनि पाउनुपर्ने ? यिनै प्रश्नले वर्षाैंदेखि मन अशान्त थियो, सूर्याेदय नगरपालिकाका जनप्रतिनिधिको । त्यसैले निर्वाचित भएलगत्तै सूर्याेदयले बुहारी शिक्षा कार्यक्रम सुरु गर्‍यो  । अनि बुहारीहरू पनि पढ्न थाले । 


घरमूली पुरुष हुने, पुरुषले भनेपछि अकाट्या हुनुपर्ने । यही संस्कारगत रोग छँदै थियो । जब संस्कार नै मान्यता बनिदिन्छ अनि भत्काउन त समय लाग्छ नै । भत्काउँदा हुने क्षति आकलन गरेर कतिपयले यस्ता मान्यता भत्काउने आँटै गर्दैनन् । तर, सूर्याेदय नगरपालिकाले गरेको त्यही आँट आज सबैको वाहवाही बनेको छ । 


सूर्योदय नगरपालिका करफोककी बबिता महतले यो कार्यक्रमबाट लाभ लिँदै आएकी छन् । उनको सिउँदोमा सिन्दुर छ, नीलो कोट र पाइन्टमा सजिएर कलेज जान्छिन् ।  छोरी र बुहारीमा फरक देखिँदैन । सिन्दुरले उनका रहर छेकेको छैन । उनको पढ्ने रहर सूर्याेदय नगरपालिकाले पूरा गरिदिएको छ । घरमा धोती र चोलो लगाएर घरधन्धा पनि गर्छिन् । तर, उनलाई विवाह गरेर आएको माइती र अहिलेको घरमा भिन्नता छैन । रहर उही छ, जाँगर उही छ, आत्मविश्वास उही छ । आफूजस्तै धेरै बुहारीहरू करफोक बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरिरहेको बबिता बताउँछिन् ।

 

सूर्याेदयकी उपप्रमुख कसैको घरमा विवाह भयो भने पहिलो चासो हुन्छ, बुहारी पढ्न पो चहन्छिन् कि । बाटोमा भेट्दा होस् वा कुनै कार्यक्रममा जाँदा बुहारीको पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आएको सूर्योदय नगर उपप्रमुख  दुर्गादेवी भट्टराई सुनाउँछिन् ।

 

बुहारी शिक्षा कार्यक्रमका कारण सूर्याेदयमा विवाह गरेर आएका कुनै चेलीलाई पराई घरजस्तै लाग्दैन । नगरको यतिविघ्न मायालाई शब्दमा पनि व्यक्त गर्न नसकिन करफोक बहुमुखी क्याम्पसमा अध्ययनरत संगीता बस्नेत बताउँछिन् ।


पालिकाले आर्थिक वर्ष ०७६/७७ मा यो कार्यक्रम सुरु गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा आइपुग्दा बबिताजस्ता दुई सय छोरी, बुहारी विभिन्न कलेजमा अध्ययन गरिरहेका छन् । छोरी र बुहारी भनेका एउटै हुन् । उनीहरूको भूमिका मात्रै फरक हो भन्ने बुझाउन यो कार्यक्रमले सघाएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिए ।


  
संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्रले सन् २०१६ देखि अघि सारेका १७ लक्ष्यको बुँदा नम्बर ४ मा शिक्षाको विषय पनि समावेश छ । ‘सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने’ उल्लेख छ । यसअघि नै सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणासहित सुरु भएको साक्षरता कार्यक्रम १३ वर्षसम्म पनि पूरा हुन सकेको छैन । 


अहिले साक्षरताको जिम्मा संघ, प्रदेश वा पालिकामा पनि आइपुगेको छ । सूर्योदयले अघि सारेको योजनाले सरकारी लक्ष्य पूरा हुने अवस्था रहेको करफोक बहुमुखी क्याम्पस प्रमुख जहरसिंह राईको बुझाइ छ ।


दिगो विकासको लक्ष्यको पाँचौँ बुँदामा ‘लैंगिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने’ भन्ने उल्लेख छ ।  नगरपालिकाको यो कार्यक्रमले दुवै योजनामा सफलता हासिल गर्न मद्दत पुगेको छ ।