close

४० करोड खर्चिएपछि नमुना बन्दै रंगेलीको शिक्षा

४० करोड खर्चिएपछि नमुना बन्दै रंगेलीको शिक्षा

Trulli
ADVERTISEMENT

मोरङ– समग्र विकासको पहिलो आधार शिक्षा हो । गुणस्तरीय र जीवनोपयोगी शिक्षा आर्जनबिना कुनै पनि समाज र देशको विकास सम्भव छैन । विकास र आर्थिक समृद्धिका लागि अघि सारिएका योजनामा शिक्षा प्राथमिकतामा परेन भने निर्धारित लक्ष्य हासिल गर्न सकिँदैन । मोरङको रंगेली नगरपालिकाले पाँच वर्षमा शिक्षा क्षेत्रमा ४० करोड रुपैयाँ लगानी गरेर शिक्षित समाज निर्माणमा जोड दिएको छ । 

 

रंगेली नगरपालिकामा साक्षरता प्रतिशत ६२ छ । अझै पनि ३८ प्रतिशत अशिक्षित छन् । नगरपालिकाले शिक्षामा लगानी बढाउँदै लगेपछि शैक्षिक क्षेत्रमा परिवर्तन देखिन थाल्यो । विद्यालयलाई प्रविधिसँग जोड्ने मात्र नभई पूर्वाधार निर्माणमा पनि नगरपालिकाले बजेट खर्च ग¥यो । अहिले नमुना विद्यालयमा पढ्ने र उच्च तहको शिक्षा प्राप्त गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । नगरपालिकाले शैक्षिक गतिविधिमा परिवर्तन ल्याउन आर्थिक वर्ष ०७४/७५ मा १३ करोड ६३ लाख २४ हजार लगानी गर्‍यो  । उक्त रकमले विद्यालय भवन निर्माण र स्तरोन्नति योजना र नीति लिइयो । सोही नीति र योजनालाई पूरा गर्न आर्थिक वर्ष २०७५/७६ मा १४ करोड ११ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरियो । शैक्षिक सामग्री खरिद, विद्यालयको शिक्षण सिकाइलाई गुणस्तर र प्रविधिमैत्री बनाउने योजना सफल हुन पुग्यो । विद्यालयमा दिवा खाजा कार्यक्रम, ई–हाजिरीले गर्दा शिक्षामा आमूल परिवर्तन देखिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख रवीन्द्रकुमार पण्डित बताउँछन् ।

 

बजेटको ठूलो हिस्सा नगरपालिकाले शिक्षामा छुट्याउने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा १० करोड ४१ लाख र ०७७/७८ मा १० करोड ४३ लाख रुपैयाँ बजेटले अहिले नगरपालिकाको शैक्षिक गुणस्तरमा वृद्धि हुन पुगेको छ । पब्लिक माध्यमिक विद्यालयमा सिटिईभिटीको सम्बन्धन लिएर प्राविधिक धारको पढाइ सुरु गरिएको छ । भवन निर्माणदेखि शिक्षण सिकाइमा गरिएको लगानीले प्रतिफल दिन थालेको पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार साहको अनुभव छ ।

 

जनप्रतिनिधिले कार्यकालको अन्तिम आर्थिक वर्षको बजेटमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । १९ करोड रुपैयाँ बजेट विनियोजन गरेर शिक्षक दरबन्दी मिलान र शैक्षिक संस्थाको पूर्वाधार निर्माणमै बढी जोड दिइएको छ । शिक्षण सिकाइलाई समस्यारहित बनाउन लोकसेवा आयोगको मापदण्डबमोजिम परीक्षा लिएर शिक्षक नियुक्त गरिएको छ । सबै सामुदायिक विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी अंग्रेजी माध्यमको पढाइमा जोड दिइएको छ । एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ । यसले नगरपालिकाको साक्षरता दर बढेको रंगेलीका नगरप्रमुख दिलीपकुमार अग्रवाल बताउँछन् ।

 

रंगेली नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी अन्य पालिकाका लागि पनि सिकाइ हुन सक्छ । शिक्षा क्षेत्रमा गरिएको लगानीअनुसारको प्रतिफल पनि प्राप्त हुँदै गइरहेको छ । प्रत्येक महिना शिक्षा समितिको बैठक बोलाउने गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई छलफलको माध्यमबाट टुंग्याउने जनप्रतिनिधिको शैलीले रंगेलीबासीको गुणस्तरीय शिक्षा प्राप्त गर्ने चाहना पूरा हुने चरणमा छ ।