close

शिक्षण सिकाइलाई डिजिटलमैत्री बनाउँदै महालक्ष्मी

शिक्षण सिकाइलाई डिजिटलमैत्री बनाउँदै महालक्ष्मी

Trulli
ADVERTISEMENT

धनकुटा– सभ्यताको सूत्रधार र समृद्ध समाजको आधार मानिने शिक्षालाई संविधानले मौलिक हकको रूपमा स्थापित गरेको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई सुम्पिएको छ । शिक्षा क्षेत्रमा सुधार ल्याउने काम स्थानीय सरकारका लागि कम चुनौतीपूर्ण थिएन । तर, चुनौतीका चाङलाई चिर्दै धनकुटाको महालक्ष्मी नगरपालिका अघि बढ्दा पाँच वर्षमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आएको छ । 

 

महालक्ष्मी नगरपालिकाभित्र जम्मा ५९ वटा सामुदायिक विद्यालय छन् । ६४ वटा बालविकास केन्द्र छन् भने एउटा क्याम्पस छ । विद्यार्थीको रुचि र पढाइको प्रभावकारिता बढाउन अंग्रेजी माध्यममा पढाइ हुन थालेको महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए ।


सबै मावि तथा उच्चमाविका कक्षालाई डिजिटल र स्मार्ट बनाउन इन्टरनेटको व्यवस्था गरिएको छ । सोहीअनुरूपको कम्प्युटर, प्रोजेक्टर पनि विद्यालयलाई उपलब्ध गराइएको छ । नमुना विद्यालयका रूपमा परिचित जितपुरमा रहेको जनता माध्यमिक विद्यालयमा पशु विज्ञानको अध्यापन सुरु गरिएको छ । ९ देखि १२ कक्षासम्म ४० जना विद्यार्थीले पशु विज्ञान अध्ययन गरिरहेका छन् । यो विषय पढ्दा पशुपालनका लागि चाहिने आवश्यक विभिन्न सीप र ज्ञान विद्यार्थीले प्राप्त गरिरहेका छन् । पढिरहेकामध्ये कतिपय विद्यार्थी अहिले तालिमे जागिर अर्थात् ‘अन द जब ट्रेनिङ’ मा छन् । स्थानीय विद्यालयमै पशु विज्ञान भएपछि नगरपालिकाभित्र गरिब तर जेहेनदार विद्यार्थीलाई धेरै फाइदा पुगेको 
जनता उच्चमावि धनकुटाका शिक्षक डा. निकेशकुमार यादवले जानकारी दिए ।

 

२०७८ को शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिएको छ । अहिले सोहीअनुरूपको पाठ्यपुस्तक बनाउने क्रम चलिरहेको छ भने कक्षा १ र ६ मा पढाइ सुरु भएको छ । विद्यार्थीले आफ्नो भूगोल, संस्कार, संस्कृतिबारे जानकारी पाउँछन् । यसले परिवेश सुहाउँदो पेसा रोज्न सकून् र बेरोजगार नहुन् भन्ने नगरको उद्देश्य पूरा हुने क्रममा छ । नगरले आर्थिक वर्ष २०७७÷७८ मा शैक्षिक प्रोफाइल पनि निर्माण गरेको छ । यसकै आधारमा १० वर्षे नगर शैक्षिक योजना तयार भएको छ । क्रमशः विद्यालयलाई स्रोत–साधनसम्पन्न गराउँदै लग्ने नगरपालिकाले दीर्घकालीन योजना बनाएकाले सफल हुँदै गएको जनता उच्चमावि धनकुटाका सहायक प्रधानाध्यापक युवराज नेपालको अनुभव छ । 

 

नगरपालिाकाले विद्यार्थीको अध्ययन तथा विद्यालयको शैक्षिक गुणस्तरमा मात्र ध्यान दिएको छैन । विद्यार्थीको स्वास्थ्यलाई पनि ध्यान दिएर ‘जंक फुड’ लाई निरुत्साहित गर्न काम गरेको छ । यसका लागि साना कक्षाका विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको छ । ताकि उनीहरूले घरमै तयार भएको खाना विद्यालयमा ल्याएर खाउन् । खानपिनदेखि, अध्ययन र अन्य आनीबानी सानैदेखि सिकाउने लक्ष्य लिएर अघि बढेको महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए ।

 

शैक्षिक क्षेत्रमा परिवर्तन र विकास गर्ने नगरपालिकाको लक्ष्य छ । तर, त्यो लक्ष्य पूरा गर्न बजेट अभाव हुने गरेको छ । यद्यपी, भएको बजेटबाट नगरले शिक्षा क्षेत्रमा गुणस्तर भित्र्याएको छ । नगरले पाँच वर्षमा शिक्षा क्षेत्रको सुधारका लागि गरेको लगानीले विस्तारै विद्यार्थीको शिक्षण सिकाइमा परिवर्तन आउन थालेको छ ।