close

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने मिक्लाजुङ्गको लक्ष्य सफलता नजिक

शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने मिक्लाजुङ्गको लक्ष्य सफलता नजिक

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको मिक्लाजुङ्ग गाउँपालिका पूर्ण साक्षर छैन । २०६८ को जनगणनाअनुसार गाउँपालिकामा ७७ दशमलव ६७ प्रतिशत नागरिक मात्रै साक्षर छन् । यहाँ पुरुष साक्षरता केही बढी र महिला साक्षरता भने केही कम थियो । विशेषगरी मधेसी, पिछडा वर्ग र दलितमा महिला साक्षरता दर कम रहेको तथ्यांक छ । महिलाको कम उमेरमा विवाह हुने तथा छोरीले विद्यालय पढ्न नहुने पुरानो सोच थियो । तर, अहिले मिक्लाजुङ्गको अवस्था फेरिएको छ । शिक्षालाई हरेक नागरिकको पहुँचमा पुर्‍याउने गाउँपालिकाको लक्ष्यले सफलता पाउँदै गएको छ । 

 

संविधानले माध्यमिक शिक्षासम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेको छ । हरेक नागरिकलाई शिक्षाको अवसर दिन मिक्लाजुङ्ग गाउँपालिकाले साढे चार वर्षमा झन्डै ८ करोड रुपैयाँ लगानी गरेपछि अहिले सफलता पछ्याइरहेको छ । जनप्रतिनिधिले शिक्षामा देखिएको समस्या अन्त्य गर्न प्रत्येक आर्थिक वर्षमा रकमान्तर गर्दै योजना निर्माण गरे । योजनाअनुसार शिक्षामा सबैको पहुँच बढाउन छात्रवृत्ति, बीचमै पढाइ छाड्ने क्रम रोक्न छात्रालाई विशेष कार्यक्रम तय गर्दा साढे चार वर्षमा मिक्लाजुङ्गको शिक्षामा सुधार भएको छ ।

 

गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा तय गरिएकोे शिक्षा क्षेत्रका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउँदै शिक्षाको गुणस्तर सुधारमा पर्याप्त ध्यान दिइने, उत्कृष्ट शैक्षिक कार्यको नतिजाका आधारमा सामूदायिक विद्यालयलाई पुरस्कृत गरिने, आवश्यकताअनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, संस्थागत विद्यालयको शुल्क निर्धारणका लागि मापदण्ड बनाउने, विद्यालय समायोजन नीति लिइने, साक्षर मिक्लाजुङ्गका रूपमा पहिचान स्थापित गरिने, मिक्लाजुङ्ग क्याम्पसलाई उच्च शिक्षा हासिल गर्न सक्ने शैक्षिक संस्थाको रूपमा विकास गरिने, क्याम्पसको भौतिक संरचना निर्माणमा सहयोग गरिने, कृषि प्राविधिक विद्यालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिने घोषणा गरेको थियो ।

 

यस्तै, आर्थिक वर्ष ०७६/७७ मा तय गरिएकोे शिक्षा क्षेत्रका कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिइने, आव ०७७/७८ मा तय गरिएकोे शिक्षा क्षेत्रका कार्यक्रममा समस्यामा परेका बालबालिका र विपन्नलाई माध्यमिक तहसम्मको निःशुल्क शिक्षा दिइने, बहुभाषिक शिक्षण पद्धति अवलम्बन गरी मातृभाषाको संरक्षण गरिने, वैज्ञानिक, प्राविधिक र व्यावसायिक जनशक्ति तयार गर्ने नीति लिइने, कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारको कक्षा सञ्चालन गरिने, आवासीय विद्यालय व्यवस्थापन गरी विद्यालय समायोजन गरिने, उच्च शिक्षाका लागि प्रस्तावित मिक्लाजुङ्ग क्याम्पसका लागि पहल गरिने उल्लेख छ ।

 

पालिकाले आर्थिक वर्ष ०७८/७९ मा तय गरिएकोे शिक्षा क्षेत्रका कार्यक्रममा २९ सामुदायिक विद्यालयमा इन्टरनेटको सुविधा पु¥याउन ३ लाख २४ हजार विनियोजन, विद्यालयमा कम्प्युटर प्रिन्टर उपलब्ध गराउन ५ लाख विनियोजन, विद्यालयमा घेराबार गर्न २५ लाख ६१ हजार विनियोजन, दिवाखाजा कार्यक्रम सञ्चालन गर्न ९ लाख रकम विनियोजन, अभिभावकविहीन र अतिविपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न ४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।यी सबै योजनालाई सफल बनाउन पालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट पनि बढाउँदै लगेको तथ्यांकले देखाएको छ । 

 

नगरपालिकाले शिक्षा क्षेत्रमा आव ०७४/७५ मा २ करोड, आव ०७५÷७६ मा १ करोड ८६ लाख १८ हजार २ सय ९०, आव ०७६/७७ मा १ करोड २१ लाख ६ हजार ८ सय, आव ०७७/७८ मा १ करोड ५० लख ३९ हजार ५ सय, आव ०७८/७९ मा १ करोड ३९ लाख ३५ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । झन्डै ८ करोड रुपैयाँ बजेटमा पालिकाले ३९ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ । 

 

सोहीअनुसार पालिकाले पहिलो वर्ष विद्यालयको डिजिटल म्यापिङ, दोस्रो वर्ष सामुदायिक नमुना विद्यालय छनोट, निजी विद्यालयको अनुगमनमा कडाइ तथा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु, तेस्रो वर्ष  विद्यालयको भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति, चौथो वर्ष विद्यालयमा आवश्यक उपकरण र छात्रवृत्तिसहित विद्यार्थीमैत्री कार्यक्रम, पाँचौँ वर्ष सबै विद्यालयमा इन्टरनेटको सुविधा, दिवाखाजा कार्यक्रम लागू गरेको छ ।

 

गाउँपालिकाकै कालिका माध्यमिक विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन भएपछि धेरै विद्यार्थी लाभान्वित भएका छन् । जनप्रतिनिधिले सबै शिक्षण संस्थामा अपांगता तथा बालमैत्री भौतिक संरचना निर्माणको नेतृत्व लिइरहेका छन् । सबै माध्यमिक विद्यालयलाई सिसिक्यामेराबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख काशीनाथ खनालले जानकारी दिए ।

 

पालिकाले विद्यालयको शैक्षिक गुणस्तर उकास्ने योजनामा ध्यान केन्द्रित गरेको छ । विद्यार्थीलाई मात्र नभई विद्यालयमा अध्यापन गराउने शिक्षक पनि शिक्षा क्षेत्रमा आएको परिवर्तनले हर्षित छन् । सीपमूलक, रोजगारीमूलक र आत्मनिर्भर बनाउने किसिमको पढाइ हुन थालेको गाउँपालिकाको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताए ।

 

गाउँपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यपुस्तक लागू गर्न पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको छ । अबको केही समयमा मिक्लाजुङ्ग  क्याम्पसबाट पालिकाका विद्यार्थीले उच्च शिक्षा लिन सक्ने मिक्लाजुङ्ग पालिका अध्यक्ष देवीप्रसाद आचार्यको दाबी छ ।


राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्त शैक्षिक क्षेत्रमा सुधार ल्याउन स्थानीय सरकारलाई निकै चुनौती थियो । शैक्षिक सुधारको जिम्मा स्थानीय सरकारको काँधमा आएसँगै जनप्रतिनिधिले दलीय समन्वय, छलफल र सुझावको आधारमा विवादरहित ढंगले काम गरिरहेका छन् ।