close

शिक्षा क्षेत्रमा फड्को मार्दै म्याङलुङ

शिक्षा क्षेत्रमा फड्को मार्दै म्याङलुङ

Trulli
ADVERTISEMENT

तेह्रथुम– शिक्षामा सुधार र परिवर्तन अपरिहार्य आवश्यकता हो । प्रविधिसँगै जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने समयको माग बन्न पुगेको छ । अंग्रेजी माध्यममा पढाइ मात्र नभई मातृभाषाको संरक्षण पनि उत्तिकै जरुरी छ । यिनै आवश्यकतालाई पूरा गरेर शिक्षामा आमूल परिवर्तन ल्याउन पाँच वर्षमा तेह्रथुमको म्याङलुङ नगरपालिका सफल भएको छ । 


म्याङलुङ नगरपालिकामा साक्षरता दर ८९ प्रतिशत छ । ३९ वटा शैक्षिक संस्था भएको यो पालिकामा शिक्षामा सुधार गर्नुपर्ने प्रमुख आवश्यकता थियो । आवश्यकतालाई नजिकबाट नियालेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि शिक्षामा सुधार ल्याउने योजना निर्माण गरे । योजनाअनुसार र समयको मागलाई ग्रहण गरेर शिक्षण सिकाइमा परिवर्तन ल्याउन जनप्रतिनिधिलाई सफलता प्राप्त भयो । अहिले नगरका सबै विद्यालयमा अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरेको छ । अंग्रेजीबाहेक अन्य दुई विषय पनि अंग्रेजी भाषामा पढाइ हुन्छ । यसले सामुदायिक विद्यालयका विद्यार्थी पनि राम्ररी अंग्रेजी बोल्न सक्ने अवस्था बनेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफे बताउँछन् ।

 

आवश्यक शिक्षकको व्यवस्था नगरपालिका आफैंले गरेको छ । शिक्षकलाई पनि तालिम व्यवस्था गरिएको छ । प्राविधिक धारको सिकाइमा जोड दिँदा अहिले नगरको नमुना विद्यालयका रूपमा परिचित सरस्वती विद्यालयमा विज्ञान र जिरीखिम्तीमा रहेको कालिका विद्यालयमा जेटिए विषय अध्यापन हुन्छ । बहुप्राविधिक शिक्षालयको भवन बनाउन वडा नम्बर ९ र ४ को सिमानामा जग्गा व्यवस्था भएको छ । केही समयपछि नयाँ भवन बन्नेछ । सरस्वती माविमा आर्थिक वर्ष ०७६/७७ देखि बजेट आउन थालेपछि सोही रकम खर्चिएर विद्यालयको पूर्वाधार निर्माण गरिएको छ । शिक्षक अभाव हुन नदिन जनप्रतिनिधिले करारमा शिक्षक नियुक्त प्रक्रियालाई अगाडि बढाएको नगरपालिकाको शिक्षा शाखाकी अधिकृत गीतादेवी सुवेदीले जानकारी दिइन् ।

 

नगरपालिकाले पाँच जना शिक्षक राखेको छ । यसका लागि शिक्षा शाखाबाटै रकम छुट्याइएको छ । कतिपय माविले विद्यालय स्रोतबाटै निजी शिक्षक राखेका छन् । २०७७ देखि नै नगरपालिकाले यहाँका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको उनको भनाइ छ । 

 

विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नगरपालिकाले ध्यान दिने गरेको छ । सरकारले २०७७ देखि दिवा खाजा कार्यक्रम लागू गरेर रकम वितरण गरे पनि नगरले २०७६ देखि नै बालबालिकालाई दिउँसो खाजा दिन थालेको थियो । यसले पनि बालबालिकालाई अध्ययन अगाडि बढाउन सहज भएको वडा नम्बर २ का वडाध्यक्ष शम्भु तुम्बाहाम्फेले बताए ।


बाल शिक्षामा सुधार ल्याउन नगरपालिकाले बजेट बढाएको छ । अहिले जनप्रतिनिधिले विद्यार्थीमा गरेको लगानीले प्रतिफल म्याङलुङले लिनेमा दुईमत छैन । प्राविधिक धारको अध्ययन गरिरहेका विद्यार्थीले उत्पादनमुखी काम गर्ने र नगरको आर्थिक उन्नतिमा ठूलो सहयोग गर्ने निश्चित छ ।