close

विद्यालयको भौतिक पूर्वाधार निर्माणले चम्किँदै सूर्योदयको शिक्षा

विद्यालयको भौतिक पूर्वाधार निर्माणले चम्किँदै सूर्योदयको शिक्षा

Trulli
ADVERTISEMENT

इलाम– संघीयता लागू भएसँगै आधारभूत र माध्यमिक तहसम्मको शिक्षासम्बन्धी अधिकार स्थानीय सरकारले पाएका छन् । माध्यमिक तहसम्मको जिम्मा स्थानीय तहलाई दिइएपछि सामुदायिक विद्यालयको गुणस्तर बढिरहेको छ । संघीय सरकारले शिक्षा क्षेत्रका लागि पठाएको बजेट सदुपयोग गरेकै कारण इलामको सूर्योदय नगरपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन देखिन थालेका छन् । 

 

इलामको सूर्योदय नगरपालिकामा मात्र होइन, देशभरकै स्थानीय तहबाट शिक्षाको गुणस्तर वृद्धि गर्ने सरकारको योजना छ । सोही योजनालाई पूरा गर्ने हुटहुटी बोकेका सूर्योदयका जनप्रतिनिधि शिक्षामा सुधार गरेर नगरलाई समृद्ध र सम्मुनत बनाउन अग्रसर भएका छन् । नगरपालिकाले ६५ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शिक्षाको गुणस्तर उकास्न लगानी बढाएको छ ।

 

नगरपालिकाले आन्तरिक आयबाट ५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याएर प्रत्येक विद्यालयमा १२ महिना १२ कार्यक्रम लागू, कक्षाकोठाको नियमित सरसफाइ, विद्यालयमा विज्ञान प्रदर्शनी, प्रधानाध्यापकसँग जनप्रतिनिधिको अन्तरक्रिया, विभिन्न खेलकुद गतिविधि, गणितसँगै खेलौँ गणितीय धारणा बसाऊँजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

शिक्षामा नमुना पालिका बनाउने जनप्रतिनिधिको योजनालाई सफल बनाउने गरी तय गरिएका यी कार्यक्रमले विद्यार्थीको सिकाइमा गुणात्मक वृद्धि भएको नगरप्रमुख रणबहादुर राई बताउँछन् ।

 

संविधानले दिएको अधिकारको प्रयोग गर्दै नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेको छ । चिया खेतीमा चर्चित सूर्योदयबारे विद्यार्थीले पाठ्यक्रममा पढ्न पाएका छन् । नगरपालिकाको भूगोल, परिचय, जनप्रतिनिधिका बारेमा जानकारी पाउँदा दंग हुने गरेको इलामको फिक्कल माध्यमिक विद्यालयका विद्यार्थी विराज भट्ट सुनाउँछन् ।


व्यवस्थित कक्षा–कोठाबिना अध्ययन र अध्यापन मुस्किल हुन्छ  । त्यसैले जनप्रतिनिधिले शैक्षिक संस्थाको भौतिक पूर्वाधार निर्माणमा पनि सहयोग गरेका छन् । विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । अहिले विद्यार्थीको ई–हाजिरी हुने गरेको छ भने बिदासमेत मोबाइलमार्फत माग्न सकिने व्यवस्था छ । यसले शिक्षक र विद्यार्थीको कक्षाकोठामा उपस्थितिबारे जानकारी पाउन सजिलो भएको फिक्कल माविका लेखापाल ठाकुर नेपालको अनुभव छ ।

 

न्यून आय भएका अभिभावकका नानीहरु, अभिभावकविहीन वा अभिभावकदेखि टाढा रहेका नानीहरुको अभिभावकत्व जनप्रतिनिधिले ग्रहण गरेका छन् । साढे चार वर्षमा नगरपालिकाको शिक्षा क्षेत्रमा देखिएको परिवर्तनले साँच्चिकै लोभलाग्द रहेको स्थानीय अभिभावक कृष्णप्रसाद सुवेदी बताउँछन् ।

 

प्रविधिमैत्री सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा पाउन थालेपछि विद्यार्थीको अकर्षण बढेको छ । सामुदायिक विद्यालयमा स्थानीय सरकारको लगानी बढेसँगै निजी बोर्डिङ स्कुलमा महँगो शुल्क तिर्नुपर्ने अभिभावकको बाध्यता पनि हटेको छ । सामुदायिक विद्यालयमा अभिभावकले देखाएको विश्वास, जनप्रतिनिधिले निर्माण गरेका योजना र शिक्षकको गुणस्तरीय अध्यापनले सूर्योदयबाट अब घामको पहिलो किरण मात्रै होइन, भविष्यमा देशको नेतृत्व गर्ने शिक्षित युवा जनशक्ति पनि उदाउनेछ ।