close

गुणस्तरीय शिक्षाको जग बसाउँदै इलाम

गुणस्तरीय शिक्षाको जग बसाउँदै इलाम

Trulli
ADVERTISEMENT

इलाम– मुलुक संघीय संरचनामा रुपान्तरण भएपछि शिक्षाको गुणस्तर सुधार्ने जिम्मा स्थानीय तहको काँधमा छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार पाएका स्थानीय सरकारले शिक्षामा परिवर्तन ल्याउन सक्दैनन् कि आशंकालाई हटाउँदै लगेका छन् । जनप्रतिनिधिले शिक्षा क्षेत्रलाई उकास्न बनाएका गुरुयोजना कार्यान्वयन हुँदै जाँदा अहिले गुणस्तरीय शिक्षाको जग बस्न थालेको छ ।  इलाम नगरपालिकाले शिक्षा क्षेत्रमा परिर्वतन ल्याएर उदाहरणीय बनेको छ । 

 

नगरपालिकाले जीवनोपयोगी एवं गुणस्तरीय शिक्षामा विशेष जोड दिइरहेको छ । किताबी ज्ञानसँगै प्राविधिक ज्ञानलाई पनि प्राथमिकता दिन थालिएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा प्रणालीलाई आत्मसात गर्दा इलाम नगरपालिकाले शिक्षा क्षेत्रमा लागू गरेका योजना सफल हुँदै गएका छन् । विद्यालय र शैक्षिक संस्थाको स्तरोन्नति, प्राविधिक धारको पढाइ एवं स्थानीय पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिले योजना बनाए । प्राविधिक सीप लिएका व्यक्ति आफैंले रोजगारी सिर्जना गर्न सक्ने भएकाले जनप्रतिनिधिले सुरुदेखि नै प्राविधिक शिक्षामा जोड दिएको पाइएको छ । नगरपालिकाको ९० प्रतिशत नागरिक व्यावसायिक कृषिमा आबद्ध छन् । योसँगै कृषि ज्ञान आवश्यक रहेको भन्दै नगरपालिकाले कृषि क्याम्पस सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ । कृषि शिक्षाको माध्यमबाट शैक्षिक पर्यटनको गन्तव्य बनाउने तयारी नगरको रहेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध पाइसकेकाले नगरपालिकाले न्यून शुल्कमा बिएससी एजी अध्ययन गराउन थालेको छ । सेमेस्टर प्रणालीमा पठनपाठन गराएर ४० जना विद्यार्थीलाई बाली विज्ञान, पशु विज्ञान, मत्स्य विज्ञान र हर्टिकल्चर पढाउने व्यवस्था गरिएको छ ।  सुन्दा जति सहज र आवश्यक लागे पनि प्राविधिक शिक्षा सञ्चालन सहज पक्कै छैन । आवश्यक उपकरण, औजार व्यवस्थापन गरेरै जसरी भए पनि गुणस्तरीय प्राविधिक कृषि शिक्षा दिलाउने नगरपालिकाको योजनाले इलामको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदै छ । यसबाहेक शिक्षा नियमावली निर्माण गरेर शैक्षिक संस्थाको पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिएको छ । ३२ प्राथमिक, २० निम्नमाध्यमिक  र ६ वटा माध्यमिक विद्यालयमा आवश्यक कक्षाकोठा व्यवस्थापन, खानेपानी र सरसफाइमा समेत ध्यान दिँदै आएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रेमकुमार गौतमले बताए ।

 

नगरपालिकाले शिक्षाको विकासमा देखाएको अग्रसरताले विद्यालय व्यवस्थापन समितिहरू पनि खुसी छन् । पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षाका कारण विद्यार्र्थी तथा अभिभावकको सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको बाल मण्डल माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजप्रसाद दुलालको बुझाइ छ ।

 

गाउँ–ठाउँको परिचय, भाषा, कला र संस्कृतिका बारेमा बालबालिकाले विद्यालय स्तरबाटै अध्ययन गराउन स्थानीय पाठ्यक्रम पनि लागू गरिएको छ । प्राविधिक ज्ञान समावेश गरिएको पाठ्यक्रमले बालबालिकाको शिक्षण सिकाइमा ठूलो सहयोग गरेको छ । प्राविधिक क्याम्पसको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण र शैक्षिक संस्थाको स्तरोन्नति नै शिक्षामा नगरपालिकाले गरेको परिवर्तन भएको भगवति मावि इलामका प्रधानाध्यापक डोरकुमार पौडेलको भनाइ छ ।

 

संघीय सरकारको अवधारणाअनुसार नै एक स्थानीय तह एक प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न इलाम नगरपालिका सफल भएको छ । राज्यको ठूलो लगानी परेका सामुदायिक भवनमा बसेर विद्यार्थीलाई सुलभ शुल्कमा अध्ययनको अवसर प्राप्त गराउन जनप्रतिनिधि सफल भएका छन् । सरकारको शैक्षिक सुधार नीतिअनुसार इलामले सुरु गरेको व्यावहारिक र प्राविधिक शिक्षण सिकाइको अवधारणाले समाज रुपान्तरणका लागि कोसेढुंगाको काम गरिरहेको छ ।