close

शैक्षिक गुणस्तरमा फड्को मार्दै कनकाई

शैक्षिक गुणस्तरमा फड्को मार्दै कनकाई

Trulli
ADVERTISEMENT

झापा– अहिले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा छ । स्थानीय तहले बढीजसो भौतिक पूर्वाधारमा लगानी गरिरहेका छन् । तर, झापाको कनकाई नगरपालिकाले भने भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तर बढाउन लगानी वृद्धि गरिरहेको छ । नगरपालिकाले शिक्षामा लगानी बढाएसँगै नगरभित्रको शैक्षिक गुणस्तरमा सुधारको संकेत देखिएको छ । 


कनकाई पोलिटेक्निक इन्स्टिच्युट । अर्थात्, प्राविधिक धारको पढाइ हुने शिक्षालय । झापाको कनकाई नगरपालिकाले दुई वर्षअघि यो शिक्षालय सञ्चालनमा ल्याएको थियो । पालिकाका लागि सवारी साधन किन्न छुट्याएको बजेट रकमान्तर गरेर कनकाईले प्राविधिक शिक्षालय खोलेको थियो । नगरपालिकाको यो कदमले प्रशंसा पाएको छ । पालिकाले गाडी खरिद गर्न छुट्याएको झन्डै ६० लाखबाट ३० लाख रकम यही शिक्षालयमा खर्च गरेको कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्रशिक्षक  सफल पाठक बताउँछन् ।

 

यसरी विभिन्न शीर्षकबाट खर्चेको रकमबाट अहिले इन्स्टिच्युटमा इन्जिनियरिङका दुई र एउटा आईटी गरी तीन वटा कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको चुनावी घोषणापत्रमा प्राविधिक शिक्षालय खोल्ने उल्लेख गरेका थिए । नगरप्रमुख पोखरेलको प्रतिबद्धता अनुसार नै सञ्चालनमा ल्याइएको यो शिक्षालय अहिले नगर बाहिरका विद्यार्थीका लागि पनि आकर्षणको केन्द्र बनेको नगरपालिकाका शिक्षा अधिकृत हरिप्रसाद मिश्रको भनाइ छ ।

 

प्राविधिक विषयको पढाइ हुने यो शिक्षालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । उनीहरू डिप्लोमा इन सिभिल इन्जिनियरिङ, ज्योमेट्रिक इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजीको अध्ययन गरिरहेका छन् । स्थानीय तहमै प्राविधिक विषय त्यो पनि सर्वसुलभ मूल्यमा अध्ययन गर्न पाउँदा खुसी लागेको कनकाई पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीद्वय कृतिका पौडेल र दीक्षिक प्रसाईं सुनाउँछन् । 

 

अहिले नगरपालिकामा पोलिटेक्निक इन्स्टिच्युटबाहेक १४ सामुदायिक विद्यालयमा ५ हजार विद्यार्थी अध्ययन गर्छन् । दुई वटा मदरसा र एउटा गुरुकुलबाट समेत नागरिकले शिक्षा लिइरहेका छन् । दुई वटा सामुदायिक क्याम्पसमा उच्च शिक्षा प्राप्त गर्नेको संख्या बढ्दै गएको छ । विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला सुरु गरिएको छ भने शिक्षकलाई समेत प्राविधिक तालिम दिएर सबल बनाइएको छ । विद्यार्थीलाई प्रविधिमैत्री बनाउन आफू पनि प्रविधिबारे जानकार हुने अवसर नगरपालिकाले दिएको झापाको भगवति आधारभूत विद्यालयकी शिक्षिका धनमाया श्रेष्ठले जानकारी दिइन् ।

 

नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक सबै नागरिकलाई शिक्षित बनाउन विज्ञ टोलीसहितको अनुगमन टोली र आईसीटी शैक्षिक सूचना केन्द्र स्थापनालगायत कार्यक्रम लागू गरेको छ ।  


नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोसाक र दिवा खाजा, बालविकासका विद्यार्थीलाई झोला वितरण, कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, बालशिक्षा, कक्षा शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार निर्माण गरेको छ ।


 
शैक्षिक क्षेत्रमा समस्या आउन नदिन बन्द निषेधित नगरपालिका बनाइएको छ । बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्दै शैक्षिक सामग्री वितरण गरेर शिक्षामा आकर्षित गर्ने लक्ष्य पूरा हुँदै गएको वडा नम्बर ४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलको दाबी छ ।

 

नगरपालिकाले शिक्षामा समतामूलक र न्यायोचित पहुँच वृद्धि गरी नगर समृद्धिको लक्ष्य लिएको छ । विद्यार्थीले सिकेका कुरालाई जीवनोपयोगी बनाउने उद्देश्यले कक्षा १ देखि ६ सम्म स्थानीय पाठ्यक्रम तय गरिएको झापाको कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी बताउँछन् ।

 


कनकाईले नमुनाका रूपमा साइकोलोजी इन स्कुल कार्यक्रम सञ्चालन गरेको छ भने कोभिड महामारीको बीचमा पनि विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गरेको छ । संघीय सरकारको ससर्त अनुदानबाहेक १ करोड ९४ लाख बजेट विनियोजन गरी शिक्षामै लगानी गरिएको छ । जनप्रतिनिधिको इच्छाशक्ति एक कार्यकाल पनि धेरै परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण कनकाईले प्रस्तुत गरेको छ ।