close

शैक्षिक गुणस्तर सुधारमा नमुना बन्दै चैनपुर

शैक्षिक गुणस्तर सुधारमा नमुना बन्दै चैनपुर

Trulli
ADVERTISEMENT

संखुवासभा– स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकारले दृढ इच्छाशक्ति र दर्बिलो प्रतिबद्धताका साथ शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न प्रयत्न गरिरहेका छन् । संखुवासभाको चैनपुर नगरपालिकाले प्राप्त स्रोत–साधन उपयोग गरेर शैक्षिक गुणस्तर उकास्ने काम सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।

 

सामुदायिक शिक्षाको विकासमा हातेमालो गर्दै असल अभ्यासको खोजी गरी कार्यान्वयनमा ल्याउने क्रम पाँच वर्षयता चैनपुर नगरपालिकामा देखिन्छ । जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न बनाएका योजना अहिले कार्यान्वयनमा आउन थालेका छन् । शिक्षाको गुणस्तरमा सुधार भएको छ भने विद्यार्थीको सहभागिता बढ्दै गएको छ । नगरपालिकाले यहाँका गरिबी तथा शिक्षकको सीप विकासमा विशेष ध्यान दिएको छ । 

 

नगरपालिकामा रहेको वाणीविलास माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर दाहाल नगरले गराएको विभिन्न विद्यालय भ्रमणबाट फर्किएपछि विद्यालयमा थुप्रै सुधार देखिएको बताउँछन् । नगरले गराएको भ्रमणबाट प्राप्त अनुभवलाई अनुशरण गर्दै अहिले विद्यालयमा परिवर्तन देखिन थालेको वाणीविलास माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर दाहाल बताउँछन् ।

 

प्रधानाध्यापक दाहालले कक्षा ६ देखि माथि सबै कक्षाकोठामा बुक कर्नर बनाएका छन् । विद्यार्थीको सिकाइलाई सहयोग पु¥याउने विभिन्न खाले पुस्तक र नमुना प्रश्नपत्र पढ्न सकिन्छ । अनुशासनका अन्य नियम पनि लागू गरिएका छन्, जसले विद्यार्थीको भविष्यलाई सही बाटोमा डोहो-याउने निश्चित रहेको दाहालको बुझाइ छ । 

 

नगरपालिकाको शिक्षा समितिले अध्ययन भ्रमणको सिकाइलाई नियम बनाएर अन्य विद्यालयमा पनि लागू गरेको छ । नगरपालिका हिमाली जिल्लामा पर्ने भएकाले विद्यार्थीको पढाइलाई जाडोले प्रभाव पार्छ । जाडो महिनामा पनि विद्यार्थीको उपस्थिति नघटोस् भनेर नगरपालिकाले न्यानो स्वीटर वितरणको योजना ल्याएको थियो । यो योजनाले विद्यार्थीको शिक्षण सिकाइमा आइरहेको अवरोध हटेको नगरपालिकाको शिक्षा समितिका कर्मचारी कमल गौतमले जानकारी दिए ।

 

शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने संवाहक स्थानीय तहका जनप्रतिनिधि भए पनि बजेट अभाव उस्तै छ । बालबालिकालाई आवासगृह बनाएर पढाउने योजना नगरले लिए पनि रकम अभावले सुरु हुन सकेन । शिक्षामा परिवर्तन ल्याउने र विद्यार्थीलाई अध्ययन गर्नुपर्छ भन्ने चेतनाको विकास गर्न नगरपालिका सफल भएको नगरप्रमुख भरतकुमार खत्रीको दाबी
छ ।

 

नगरप्रमुख खत्रीले दिवा बोडर्स विद्यालय खोल्ने चाहना राखे पनि बजेटकै कारण त्यो सफल हुन सकेन । तर, आफूले शिक्षामा ल्याएको केही सुधारले दीर्घकालीन महत्व पक्कै राख्ने विश्वास उनको छ । चैनपुरको शिक्षा क्षेत्रमा देखिएको परिवर्तनले सन् २०२२ सम्ममा समावेशी, सुरक्षित र संरक्षित वातावरणमा सबैभन्दा पिछडिएकासहित देशका सम्पूर्ण बालबालिकालाई पूर्वप्राथमिक तथा आधारभूत शिक्षा सुनिश्चित गर्ने सरकारी लक्ष्य पूरा हुने क्रममा अघि बढेको छ ।