close

त्रिवि केन्द्रीय पुस्तकालय भवन शिलान्यास

त्रिवि केन्द्रीय पुस्तकालय भवन शिलान्यास

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताए । 

 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि त्रिविले अग्रसरता देखाउनुपर्ने धारणा व्यक्त गरे । 

 

‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ । उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुव विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर सेन्टर अफ एक्सिलेन्सीको रूपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ,’ उनले भने ।

 

त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई मिहिनेत गरेर अगाडि बढ्न उनको आग्रह छ । विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्राध्यापक तथा विद्यार्थीको जिम्मामा रहेको उनले सुनाए । ‘केन्द्रीय पुस्तकालयलगायत विश्वविद्यालयदेखि विद्यालयका भवन निर्माणमा सहयोग गरेकामा भारतप्रति आभार व्यक्त गर्दछु,’ मन्त्री पौडेलले भने, ‘भारत सरकार र एक्जिम बैंकलाई धन्यवाद दिन चाहन्छु ।’ 

 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । ‘त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी हो । भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ ।’

 

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले ०१६ मा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्ट रहेको बताए । पुस्तकालय निर्माणपछि घरमै बसेर २४ सै घन्टा अध्ययन गर्न सकिनेछ । अपांगमैत्री बन्ने छ ।

 

केसी हनुमान जेभीले गत पुसबाट निर्माण सुरु गरेको छ । कुल ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रुपैयाँ निर्माणमा थलिएको पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने सम्झौता भएको छ ।