close

गुणस्तरीय शिक्षामा भद्रपुरको सफलता

गुणस्तरीय शिक्षामा भद्रपुरको सफलता

Trulli
ADVERTISEMENT

झापा–राष्ट्रको प्रगतिको आधार त्यस देशका नागरिकले प्राप्त गर्ने शिक्षाको स्तरले निर्धारण गर्दछ । त्यसका लागि राष्ट्रिय दृष्टिकोण र नीति कार्यान्वयनको संकल्पसहितको अठोट अपरिहार्य हुन्छ । गुणस्तरीय शिक्षा योजना कार्यान्वयन गरिरहेको झापाको भद्रपुर नगरपालिकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । 

 

झापाको सदरमुकामसमेत रहेको भद्रपुर सुविधाका हिसाबले सुगम छ । यहाँ विमानस्थलदेखि प्रदेशस्तरीय अस्पताल र पूर्वाधार निर्माण भएका छन् । तर, तुलनात्मक रूपमा शिक्षा क्षेत्रमा उति विकास भएको थिएन । नगरबासीको साक्षरता र शैक्षिक गुणस्तरलाई उकास्ने योजनासहित निर्वाचित भएका भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले अहिले त्यो समस्याको समेत समाधान गर्दै लगेका छन् । 

 

शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भद्रपुरले पहिलो वर्षमै ‘विद्यालयमार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावक’ नारासहित विद्यालय र नगरपालिका सरसफाइ अभियान प्रारम्भ गरेको थियो । विद्यार्थीको सिकाइका लागि बालमैत्री कक्षाकोठा, कक्षाकोठामा भित्तेलेखन, कार्पेटिङ, पंखा, बत्ती तथा इन्टरनेट सुविधा सबै बिद्यालयमा पु-याइएको छ ।

 

नगरपालिकाले शिक्षाको उज्यालो घामबाट कोही वञ्चित हुनु नपरोस् भन्नका लागि विद्यालयको आवश्यक भौतिक संरचनासमेत निर्माण गरेको छ । ४ कोठे , ८ कोठे र २ कोठे विद्यालयका भवन बनाइएको छ । विद्यालयमा शौचालय, खानेपानी, खेलमैदान र विषयगत शिक्षकमार्फत पठनपाठनको व्यवस्था गरिएको भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

 

विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन भन्ने कुरालाई दृष्टिगत गर्दै नगरपालिकाले ३ मंसिर ०७४ बाट बालमैत्री अभियान प्रारम्भ गरेको थियो । नगरले अहिले स्थानीय पाठ्यक्रम तयार पारेर यहाँका विद्यालयमा अध्ययन गराइरहेको छ ।बालबालिकाले आफ्नो स्थानीय तह, यहाँका भाषा, कला, संस्कृति, रहनसहन, भेषभूषालगायत विषयमा जानकारी लिन पाएका छन् । स्थानीय पाठ्यक्रममा नगरपालिकाले योग शिक्षालाई प्राथमिकता दिएको छ । 

 

नैतिक आचरणसहितको शिक्षालाई प्राथमिकतामा राखेको छ । यसले पनि अनुशासित वातावरणमा व्यावहारिक र प्रयोगात्मक शिक्षा हासिल गर्न बालबालिका सक्षम भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलको भनाइ
छ ।

 

नगरपालिकाले नगरभित्रका दुई क्याम्पस, एक मदरसा, ३१ बालविकास केन्द्र, २३ आधारभूत विद्यालय र ८ माध्यमिक विद्यालय गरी ६६ वटा शैक्षिक संस्थाको पूर्वाधार विकासमा लगानी गरेको छ । पालिकाभित्रका ८ विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना भएका छन् । 

 

६ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरी अध्ययन अध्यापन गराउन नगरपालिका सफल बनेको छ । बाल मनोविज्ञानलाई लक्षित गर्दै बालबालिकालाई गीत–संगीत र श्रव्यदृश्य माध्यममार्फत शिक्षा दिइँदै आएको नगरपालिकामा रहेको गौतमबुद्ध प्राथमिकत विद्यालयकी प्रधानाध्यापक शोभा गुरुङले बताइन् ।

 

सरकारले हरेक विद्यालयमा एक जना नर्स राख्ने व्यवस्था गरेबमोजिम यहाँको वीरेन्द्र माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिएको छ । त्यसरी नै प्रत्येक विद्यालयमा कक्षा ६ देखि १२ कक्षासम्मका छात्राका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गरिँदै आएको छ । यसले महिनावारी हुँदा विद्यालय अनुपस्थित हुने छात्रालाई सुविधा पुगेको झापाको वीरेन्द्र माध्यमिक विद्यालयकी नर्स दीपिका देवकोटा सुनाउँछिन् ।

 

नगरपालिकाले योग सिकाउन दुई विद्यालयमा योग शिक्षकको व्यवस्था गरेको छ । भारतसँग सीमा जोडिएको मेचीपारि २०४४ मा स्थापना गरीएको मेची आधारभूत विद्यालयमा समेत छिमेकी भारतबाट बालबालिका अध्ययन गर्न आउने गरेका छन् । अंग्रेजी माध्यममार्फत अध्ययन, अध्यापन गराउन पालिकाले शिक्षकको व्यवस्था गरेको छ । कुनै पनि बन्द, हडतालको समय पनि विद्यालयको पठनपाठन नरोकिने गरेको मेची आधारभूत विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले
बताए ।

 

नगरपालिकाले प्रत्येक विद्यालयमा शौचालय निर्माण, फरक प्रतिभा भएका विद्यार्थीका लागि दुई जना नृत्य शिक्षक र दुई जना खेल शिक्षक व्यवस्था गरेको छ । सबै विद्यालयमा बालक्लब गठन गरिएको छ । शैक्षिक क्षेत्रमा योगदान पु-याएका सामुदायिक विद्यालयका अवकाश प्राप्त शिक्षकलाई प्रोत्साहनस्वरुप सम्मान, पालिकाभरिबाट ८ कक्षा र एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्दै गुणस्तरीय शिक्षा दिएर नमुना बनिरहेको छ ।