close

उत्तरगया गाउँपालिकामा वार्षिक ११५ जनालाई नि:शुल्क प्राविधिक शिक्षा

उत्तरगया गाउँपालिकामा वार्षिक ११५ जनालाई नि:शुल्क प्राविधिक शिक्षा

Trulli
ADVERTISEMENT

रसुवा । उत्तरगया गाउँपालिकाले आधारभूत शिक्षा र प्रविधिक शिक्षामा नयाँ योजनाका साथ कामको थालनी गरेको छ । 

नीति तथा कार्यक्रममार्फत् गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बालबालिकाको शिक्षा र भर्खर उच्च शिक्षा सुरु गर्नेहरूका लागि फरक-फरक योजना पारित गरेका हुन् । 

गाउँपालिका अध्यक्ष स्वरोजगारमूलक कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष १०० जनालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद‍्सँगको सहकार्यमा तालिम दिने गरी योजना ल्याएको छ । 'सिटिइभिटीसँग समन्वय गरेर हरेक वर्ष १०० जनालाई ३ महिने सीपमूलक तालिम दिन्छौं ।' अध्यक्ष अर्यालले पालिका खबरसँग भने । 

उनका अनुसार उक्त योजना अनुसार ५ वर्षमा ५०० जना युवा सीपयुक्त हुनेछन् । यसले युवालाई रोजगार दिनेमा अध्यक्ष विश्वस्त छन् । अध्यक्ष अर्यालका अनुसार उनीहरूले देशभित्रै रोजगार पाउँछन् भने विदेश जानै परेमा अदक्ष श्रमिकको तुलनामा ३ गुणा पारिश्रमिक पाउँछन् । 

साथै गाउँपालिकाले वार्षिक १५ जनालाई सशर्त ३ वर्षे प्राविधिक शिक्षा दिनेछन् । उनीहरूले कृषि, पशुसेवा, सिभिल सब इन्जिनियर र हेल्थ एसिस्टेन्ट रोजेर पढ्न पाउनेछन् भने शुल्क गाउँपालिकाले व्यहोर्नेछ । तर, उनीहरूले अध्ययन सकेर फर्किएपछि कम्तीमा ३ वर्ष गाउँपालिकाभित्रै काम गर्नुपर्ने छ । गाउँपालिकाले आवश्यक ठानेमा थप खटाउन सक्नेछन् । गाउँपालिकामा बाहिरबाट प्राविधिक कर्मचारी आउन नमान्ने र गाउँपालिकामा दक्ष युवा उत्पादनका लागि यस्तो योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । 

यो कार्यक्रम पनि ५ वर्ष निरन्तर रहनेछ भने कार्यक्रम सफल हुँदा ७५ जना सीपयुक्त हुनेछन् । यस कार्यक्रमका लागि पनि गाउँपालिकाले बजेटको व्यवस्था गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद‍्बाट मान्यता प्राप्त संस्थामा पढ्नुपर्नेछ । अध्ययनसँगै आफूले पढेको विषयमा उतिर्ण हुनुपर्नेछ । 

त्यस्तै गाउँपालिकाका सबै विद्यालयमा यही भदौं १ गतेदेखि बालशिशु र कक्षा १ मा क्रियटिभ लर्निङको प्लानिङअन्तर्गत सिकाइ सुरु गर्दैछ । उक्त  कार्यका लागि अहिले गाउँपालिकाले जनशक्तिलाई तालिम दिने र पूर्वाधार तयार गर्ने काम गरिरहेको छ । क्रियटिभ लर्निङका लागि ५ वटा विद्यालयमा स्मार्ट टिभि नभएकोले जडानको काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

भदौंदेखि सुरु हुने क्रियटिभ लर्निङमा आधारित शिक्षण विधिबाट सिकाइको सुरुवात गर्दा सानैदेखि व्यावहारिक सीप सिक्छन् । उक्त कार्यक्रमबाट १९ विद्यालयका करिब ३०० बालबालिका लाभाम्वित हुनेछन् ।