close

गर्मी बढेपछि सियारीका विद्यालय बन्द गर्न निर्देशन

गर्मी बढेपछि सियारीका विद्यालय बन्द गर्न निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही ।  सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । केही दिनयता गर्मी बढ्दै गएपछि गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । 


बढ्दो गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सबै सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।

 
पालिका अन्तरगतको शिक्षा समितिको आज मंगलबार बसेको बैठकले बुधबार देखि आगामी असार ६ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए । 


‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान आउन तथा पठनपाठनमा समस्या आएको थियो ।जिल्ला विपद व्यवस्थापन समितिले पनि अत्याधिक गर्मी बढेका कारण विद्यार्थीहरु समस्या परेको भन्ने पत्र आएको थियो’ सियारी गाउँपालिका अध्यक्ष एवंं शिक्षा समितिका संयोजक थानेश्वर घिमिरेले भने, ‘त्यसैले १४ दिनसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरेका हौं ।'

 
पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउँसोको समयमा घाममा हिडडुल गर्न नदिन आग्रह गरेको छ ।  यस्तै पूर्वनिर्धारित परिक्षालाई साउन १९ गते भित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । 


रुपन्देहीमा केहि दिनदेखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन् ।