close

शैक्षिक सुधारका लागि योजना बनाउदै मालारानी

शैक्षिक सुधारका लागि योजना बनाउदै मालारानी

Trulli
ADVERTISEMENT

अर्घाखाँची - मालारानी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक र पालिकाका कर्मचारी एवम् जनप्रतिनिधिबिच अन्तरसंवाद सम्पन्न भएको छ  ।  गाउँपालिकाकाे शिक्षा शाखाको आयोजनामा  पालिकाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि अन्तरस‌ंवाद गरेकाे हाे । 

सामुदायिक विद्यालयहरुको समस्या तथा गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भुमिकाको बिषयमा अन्तरसंवाद भएको  गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताए । ‘विद्यालयहरुको अवस्थाको बारेमा रिपोटिङ्गसँगै आगामी दिनको कार्ययोजना समेत निर्माण गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नियमित रुपमा छलफल गर्ने गरी प्रध्यानाध्यापकज्यूहरुसंग बैठक सम्पन्न गरेका छौं,’ उनले भने ।

 वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका नै बनाएर काम गर्ने गरी निर्णय भएको पालिकाका सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रले बताए । ‘कक्षा ५ को उपलब्धि परिक्षण भदौको पहिलो हप्ताभित्र, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परिक्षा व्यवस्थापन गर्ने, प्रश्न पत्र कार्यालयले निर्माण गर्ने र विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा बिश्लेषण, प्रधानाध्यापकको बैठक र अभिभाबक बिच अन्तरक्रिया कार्य भदौको पहिलो हप्ता भित्र वडा शिक्षा समितले गर्ने गरि निर्णय भएको छ,’ उनले भने ।

पालिका भित्रबाट एसइई परीक्षाको नतिजाको समेत समिक्षा गरी आगामी दिनमा नतिजा राम्रो बनाउन सरोकारवालाको भुमिकाको बिषयमा छलफलसंगै कार्ययोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिए । ‘यस पटक मालारानी गाउँपालिकाका १४ वटा विद्यालयबाट एसइई परीक्षामा ५सय ५४ जना बिद्यार्थी सहभागी भएकोमा प्राप्त भएको नतिजाको बिश्लेषण गरी आगामी दिनमा सुधारका योजनाहरु समेत अगाडि बढाउनुका साथै प्रधानाध्यापकहरुलाई बिद्यालयको शैक्षिक, प्रशासकीय र ब्यवस्थापकीय कार्यकुशलता प्रदर्शन  गर्न उत्प्रेरित गरेका छौँ, ’ उनले भने । 

पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामाग्री निर्माण गर्नको लागी कार्यदल समेत निर्माण गरेको पालिकाका शिक्षा अधिकृत रमेश पन्थीले बताए । ‘पालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गरी कार्यन्वयन गर्ने चरणमा रहेकोमा यसवर्ष उक्त पाठ्यक्रम कार्यान्वयनमा सहजीकरणको लागि श्रोत सामग्री निर्माणको तयारी थालिएको छ । पालिकाका भित्र रहेका ३३ वटा बालबिकाश केन्द्रमा स्मार्ट टि.भिबाट अध्यापन गराउने कार्यको सुरुवात तुरुन्तै गरेका छाैँ, उनले भने । 

 शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयले गरेका प्रयास र गाउँपालिकासंगको अपेक्षा र समस्याहरुका बिषयमा पालिकालाई जानकारी गराएको सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक कृष्ण पौडेलले बताए। 'यसप्रकारको अन्तरसंवादले शैक्षिक गुणस्तर सुधार गर्न र विद्यालयका समस्याहरु समेत राख्न पाईने र समाधानको प्रयास हुने हुदाँ यस्ता संवादलाई निरन्तरता दिनु पर्दछ,’ उनले भने ।