close

लिमी भ्याल्लीको वाध्यता : आफ्नै गाउँपालिकाको माविमा पढ्ने विद्यार्थी शून्य

लिमी भ्याल्लीको वाध्यता : आफ्नै गाउँपालिकाको माविमा पढ्ने विद्यार्थी शून्य

Trulli
ADVERTISEMENT

हुम्ला - नाम्खा गाउँपालिका-६ लिमीभ्याल्लीमा आधारभूत तह पढ्ने विद्यार्थीको संख्या ६२ जना  । तर उनीहरूको शैक्षिक समस्याकाे  चाङ ६२ भन्दा बढी छन् ।

भौगलिक रुपमा विकट तथा दुर्गम गाउँ लिमीभ्याल्लीका बालबालिकाहरूले माध्यमिक तह पढ्न पाउँदैनन् । किनभने गाउँपालिकामा रहेको एकमात्र माध्यमिक विद्यालय आउन ३ दिन लाग्छ । नाम्खा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनराज बुढाले पालिकाखबरसँग भने,‘त्यहाँका सक्ने सम्पन्न परिवारले शहर लगेर माध्यमिक तह पढाउँछन् । नसक्नेले दोहोर्‍याउदै तेह्रयाउदै त्यहीँ पढ्छन् ।’

गाउँपालिकाको वडा नम्बर- ४ मा अवस्थित महाबौद्ध मावि याल्बाङ आउनसमेत ३ दिन लाग्नुका साथै जंगलको बाटो  हुँदै आइपुग्न असुरक्षित बाटाे पर्ने उनले बताए । बाटाे टाढा भएकोले याल्बाङ आउनेको संख्या अति न्यून रहेको शिक्षा शाखा प्रमुख बुढा बताउँछन् । उनका अनुसार याल्बाङ आउनुभन्दा शहरमा पढ्नु लिमीभ्याल्लीवासीको लागि सहज छ । 

लिमीभ्याल्लीबाहेक गाउँपालिका-५ यारी र गाउँपालिका-३ थगालका विद्यार्थीहरू ४/४ घण्टा हिँडेर मावि पढ्न आउने गरेका शाखाप्रमुख बुढा बताउँछन् । नाम्खामा अहिले एक धार्मिक विद्यालयसहित १७ वटा विद्यालयमा साढे ११ सय विद्यार्थीहरू अध्ययनरत छन् । 

सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाका अनुसार कक्षा ५ भन्दा माथि अध्ययनको लागि काठमाडौं र भारत पढ्न जानको संख्या ६० जना छन् । आफ्नै गाउँपालिकाको वडा नम्बर  ३ याल्बाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा पढ्नेको संख्या शून्य रहेको प्रधानाध्यापक बुढाले पालिकाखबरलाई बताए । 

अघिल्लो वर्षसम्म कक्षा ५ सम्म मात्रै हुँदा कक्षा दोहोर्याउनेको संख्या १३ जनासम्म थियो भने यस शैक्षिक सत्रदेखि कक्षा ६ सम्म पढाइ हुन थालेकोले दोहोर्याउनेको संख्या छैन । आगामी वर्ष कक्षा ७ सञ्चालन हुन सकेन भने गतवर्ष जस्तै कक्षा दोहोर्याउनेको संख्या बढ्ने छ । आर्थिक रुपमा सक्षम परिवारले बालबालिका पढाउन सहर पठाउँछ भने विपन्नले कक्षा दोहोर्याउँदै राख्छन् ।