close

तीनपाटनमा ‘सासुको इच्छा, बुहारीको शिक्षा’

तीनपाटनमा ‘सासुको इच्छा, बुहारीको शिक्षा’

Trulli
ADVERTISEMENT

सिन्धुली– तीनपाटन गाउँपालिकाले ‘सासुको इच्छा, बुहारीको शिक्षा’ कार्यक्रम सुरु गरेको छ । दलित समुदायका छोरी बुहारीलाई उच्च शिक्षा प्रदान गर्ने उदेश्यले गाउँपालिकाले सो कार्यक्रम सुरु गरेको हो । 

पालिकाभित्र रहेका तीनवटा क्याम्पसमा अध्ययन गर्ने दलित छोरी बुहारीलाई उच्च शिक्षाको व्यवस्था गरेको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख युवराज काफ्लेले पालिकाखबरलाई बताए । यस्तै, सामुदायिक विद्यालयको गुणस्तर सुधारकै लागि गाउँपालिकाले ‘विद्यालयमा आमा कार्यक्रम’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

नेपाल सरकारले उपलब्ध गराएको १५ रुपैयाँ दिवा खाजामा पालिकाले १० रुपैयाँ थप गरेर बालबालिकालाई पोषणयुक्त खाजा खुवाउन सो कार्यक्रम ल्याइएको उनले बताए । शिक्षा शाखा प्रमुख काफ्लेले भने, ‘आमा समूह गठन गरेर आमाहरू नै विद्यालयमा पालैपालो उपस्थित भएर आफ्नो बालबालिकालाई आफै खाजा बनाएर खुवाउनुहुन्छ ।’

गाउँपालिकाले प्राविधिक शिक्षामा बालबालिकाको पहुँच बढाउन ‘प्राविधिक विधामा रोजगारी, तीनपाटनका छोराछोरी कार्यक्रम’सुरु गरेको छ । सो कार्यक्रममार्फत तीनपाटन गाउँपालिकाका ११ वटा वडाका बालबालिकालाई तीन वर्षे प्राविधिक डिप्लोमा कोर्ष निशुल्क उपलब्ध गराउने उनले जानकारी दिए । उनको अनुसार कार्यक्रममार्फत कृषि र भेटेरिनरी अध्ययनका लागि यस वर्षबाट निःशुल्क छात्रावृत्ति उपलब्ध गराइएको छ । सिटिइभिटिको मान्यता प्राप्त पालिकाभित्रै पनि विद्यालय रहेको र पालिका बाहिरको शैक्षिक संस्थामा गएर पढ्न चाहेमा पनि छात्रावृत्ति प्रदान गरेको उनले जानकारी दिए ।

शिक्षक दरबन्दी नपुगेका विद्यालयलाई पालिकाले नै गाउँ शिक्षकको अवधारणा गरेर शिक्षकको व्यवस्थापन पनि गदै आएको उनले जानकारी दिए ।

गाउँपालिकामा ८७ वटा सामुदायिक विद्यालय र ६ वटा संस्थागत विद्यालय गरेर कुल ९३ ओटा विद्यालय छन् । जसमध्ये २१ वटा माध्यमिक र ५६ ओटा आधारभूत विद्यालयहरू छन् । गाउँपालिकामा शिक्षा शास्त्र, मानव शास्त्र र मानविकी संकायमा स्नातकोत्तर तहसम्म अध्यापन हुने शैक्षिक संस्था पालिकाभित्रै रहेको उनले बताए ।