close

बुहारीलाई निःशुल्क स्नातक तह पढाउँदै सूर्योदय

बुहारीलाई निःशुल्क स्नातक तह पढाउँदै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम– सूर्योदय नगरपालिकाले स्नातक तहमा महिलाहरू नि:शुल्क शिक्षा प्रदान गरेको छ । महिलालाई शिक्षामा प्रोत्साहनका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको हो । 

‘सूर्योदय नगरपालिकाको इच्छा, छोरी बुहारीको शिक्षा’ कार्यक्रम सञ्चालन गरेर पालिकाभित्र अध्ययन गर्न चाहने छोरी, बुहारीलाई स्नातक तहमा निःशुल्क अध्यापन गराएको पालिकाको महिला विकास अधिकृत तारा शेर्पाले बताइन् । नगरपालिकाले महिलाहरुको लागि शैक्षिक लाइसेन्स तयारी कक्षा र लोक सेवा तयारी कक्षा समेत सञ्चालन गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘पालिकाले सञ्चालन गरेको कक्षामा पढेर धेरेजनाले नाम निकाल्नु भएको छ । यी कार्यक्रमलाई यस आर्थिक वर्ष पनि निरन्तरता दिइएको छ ।’
 
उता नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने एकल महिलाको निःशुल्क बीमा गर्ने गरेको छ । नगरपालिकाले ५० वर्षभन्दा माथिका एकल महिला तथा ५० वर्षभन्दा मुनिका अविवाहित महिलाको निःशुल्क बिमा गरिइने उनले जानकारी दिइन् । उनको अनुसार अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि नगरपालिकाले स्वास्थ्य बिमाको लागि रु दुई हजार उपलब्ध गराउने गरेको छ । त्यसमा परिवारले बाँकी रकम थप गरेर ३५ सय रुपैयाँमा पाँच जनासम्म सदस्य रहेको परिवारले स्वास्थ्य बीमा गर्नसक्ने उनले बताइन् ।  

यस्तै महिलाहरुको क्षमता विकासको लागि नगरपालिकाले कृषि विकास तथा नेतृत्व विकासका तालिमहरु सञ्चालन गर्ने उनले पालिकाखबरलाई बताइन् । उनको अनुसार महिला दिवस तथा अन्य दिवसको अवसरमा महिलाहरुमा सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गरिन्छ । ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिलाहरुलाई घरेलु हिंसाविरुद्धको नाटक प्रदर्शन गरेर सचेतना जगाउँछौँ,’ उनले भनिन् । 

नगरपालिकाले महिला विकास शाखाको लागि भनेर चालु आर्थिक वर्ष २०८०/८१ मा ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।