close

माध्यमिक तह अध्ययनका लागि भारत जानुपर्ने बाध्यता

माध्यमिक तह अध्ययनका लागि भारत जानुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

नवलपरासी- सुस्ता गाउँ भौगोलिक हिसाबले विकटमात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि बञ्चित रहेको छ । यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् । 

तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको विहार राज्यबाट घेरिएको छ । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ । यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हुँदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प रहेको छ । 

सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधा समेत पर्याप्त छैन । त्यहाँ रहेको एक मात्र जनता दलित आधारभूत विद्यालयमा ४०० भन्दा बढी बालबालिका अध्ययन गर्छन् । २०५९ सालमा स्थापना भएको यस विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । 
विद्यालयमा सात शिक्षक र दुई कर्मचारी कार्यरत छन् । चार शिक्षक मात्रै दरबन्दीमा रहेकाले अन्य तीन शिक्षकलाई गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ । “विद्यालयमा भर्नादर उत्साहजनक भए पनि अन्तिम कक्षा ८ सम्म पुग्दा भने विद्यार्थीको सङ्ख्या न्यून हुने गरेको छ । विद्यालयमा कक्षा १ मा ९३ विद्यार्थी अध्ययनरत रहेपनि ८ कक्षासम्म पुग्दा धेरैले पढाइ छोडिसकेका हुन्छ । 

गत वर्षका वार्षिक परीक्षामा कक्षा ८ मा जम्मा ११ जना विद्यार्थी सहभागी थिए । कक्षा ८ उत्तीर्ण गरेका विद्यार्थीमध्ये केही नजिकैको भारतीय विद्यालयमा र केही नारायणी नदी पारि कुडियास्थित सामुदायिक विद्यालयमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक उदय रुचाल बताउछन् । पूर्वाधार र शिक्षकको अभावका कारण विद्यालयमा माध्यामिक तहसम्म कक्षा सञ्चालन गर्न कठिनाइ भएको प्रधानाध्यापक रुचाल बताउछन् । 
    
आधारभूत तह पार गरेपछि थप अध्ययनका लागि कि त नारायणी नदी पार गरेर अर्को विद्यालयमा जानुपर्‍यो कि त भारतीय विद्यालयमा जानुपर्ने यहाँका बालबालिकाको बाध्यता हो”, विद्यालयका सहायक प्रधानाध्यापक औरंगजेब खान बताउछन्, “जसको बाहिर व्यवस्था हुन्छ, नातेदार छन् उनीहरुले मात्रै पढाईलाई निरन्तरता दिन सकेका छन् ।”

नारायणी नदीमा निर्माणाधीन पुल सञ्चालनमा नआउँदासम्म कक्षा १ देखि माथिल्लो कक्षामा जाँदा नै क्रमशः विद्यालय छाड्ने क्रम बढदै जाने गरेको सहायक प्रधानाध्यापक खान बताउछन् । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएकामा गुनासो गर्दै सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने उनको माग छ । 

नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण सुरु गरेको वर्षौं हुँदासमेत निर्माण कम्पनीको ढिलाइका कारण पूरा भएको छैन । माध्यमिक तहका लागि धेरै बालबालिका सीमापार विहारको भेडिहारी वा लक्ष्मीपुर पुग्नुपर्ने बाध्यता छ । भारतका विद्यालयमा पढ्न जाँदा जङ्गलको बाटो र सीमामा सुरक्षाकर्मीको कडा जाँचका कारण समस्या भएको अर्का स्थानीयवासी आदम खाँ बताउछन् । 

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय सिङ्गा पालिका नै विकासका भौगोलिक हिसावले मात्र नभई हरेक क्षेत्रमा पिछडिएको बताउछन् ।