close

निःशुल्क स्यानिटरी प्याड : किशोरीलाई प्रयोग गर्न सिकाइदैन

निःशुल्क स्यानिटरी प्याड : किशोरीलाई प्रयोग गर्न सिकाइदैन

Trulli
ADVERTISEMENT

धनुषा– मिथिला बिहारी नगरपालिकाले सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ । नेपाल सरकारले सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने निर्णय अनुसार नगरपालिकाले पनि निःशुल्क प्याड उपलब्ध गराएको हो । 

तर, नगरपालिकामा चालु आर्थक वर्षका लागि हालसम्म पनि नगरसभा हुन नसक्दा स्यानिटरी प्याड खरिद गर्न नसकिएको नगरपालिकाकी शिक्षा शाखा प्रमुख रिमा झाले बताइन् । सो अवस्थामा गत आर्थिक वर्षमै खरिद भएको स्यानिटरी प्याड सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको उनको भनाई छ । 

गत आर्थिक वर्षमा पनि नगरसभा ढिलो भएर बजेट आउन ढिलाइ भएको उनले बताइन् । उनले भनिन्, ‘गत वर्ष ढिलो प्याड खरिद भएको थियो । विद्यालयमा त्यो प्याडहरु अझै बाँकी छ । त्यही प्याड विद्यालयमा छात्राहरुलाई बाँड्न पुगिरहेको छ ।’ नगरपालिकाले हालसम्म स्यानिटरी प्याड खरिदसम्बन्धी कार्यविधि बनाएको छैन । तरपनि  टेण्डरमार्फत राम्रो गुणस्तरको प्याड खरिद गरेको उनले बताइन् । 

मिथिला बिहारी नगरपालिकामा १४ वटा सामुदायिक विद्यालय छन् । कक्षा ५ देखि विद्यालय तहसम्म अध्ययन गर्ने किशोरीहरुलाई नगरपालिकाले निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको शिक्षा शाखा प्रमुख झाले बताइन् । 

छात्राहरुले आफूलाई आवश्यक गरेको समयमा प्याड विद्यालयबाट पाउने उनले पालिकाखबरलाई सुनाइन् । ‘यदि कक्षा शिक्षक महिला भएमा उहाँहरुसँग विद्यार्थीले प्याड लिन सक्छन् । कक्षा शिक्षक महिला नभएमा बाल विकास सहजकर्तासँग विद्यार्थीहरुले प्याड लिन्छन्,’ उनले भनिन् । विद्यालयहरुमा कार्यक्रम आयोजना भएको समयमा एकैपटकमा ३/४ महिनाको लागि पुग्नेगरी छात्राहरुलाई प्याड वितरण गरिन्छ । 

मिथिला बिहारी नगरपालिकामा ७ वटा माध्यमिक विद्यालय छन् । ती माध्यमिक विद्यालयमा छात्रा र छात्रको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था भएपनि अन्य विद्यालयमा सबै विद्यार्थीहरुले एउटै शौचालयको प्रयोग गर्ने उनले बताइन्। छुट्टाछुट्टै शौचालय नहुँदा प्याडको प्रयोगमा पनि छात्राहरुलाई समस्या हुने गरेको छ । 

उनको अनुसार नगरपालिकाले निःशुल्क प्याड खरिद गरेपनि यसको सचेतनाको लागि कुनै तालिम प्रदान गरेको छैन । स्यानिटरी प्याडको प्रयोग र विसर्जनको बारेमा हालसम्म तालिमको आयोजना नगरेको उनले बताइन् । पालिकाभित्र गैरसरकारी संस्थाहरुले सचेतना प्रदान गरिरहेको उनले बताइन् । 

उनले भनिन् , ‘लाइफ नेपाल संस्था र आसमान संस्थाले बालविकास सहजकर्ता, इसिडीलाई स्यानिटरी प्याडको बारेमा सचेतनाका तालिम प्रदान गरिरहेको हुन्छ । बाल विकास सहजकर्ताबाट नै विद्यार्थीहरुले जानकारी पाइरहेका छन् ।’