close

६९ शिक्षकलाई तालिम दिन १० लाख विनियोजन

६९ शिक्षकलाई तालिम दिन १० लाख विनियोजन

Trulli
ADVERTISEMENT

इलाम- माई नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई पेशागत तालिम दिने भएको छ । नगरपालिकाले प्राथमिक तहमा कार्यरत सबै शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नको लागि सो तालिम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको शिक्षण पद्धतिमा परिवर्तन गर्नका लागि तालिम सञ्चालन गर्न लागेको हो । शैक्षिक तालिम केन्द्रले क्षमता अभिवृद्धि गरे पनि केही शिक्षकलाई मात्रै सहभागी गराइने उनले पालिकाखबरलाई बताइन् । 

पालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा कार्यरत ६९ जना शिक्षकलाई सो तालिममा सहभागी गराइने उनले जानकारी दिइन् । तालिमबाट शिक्षण पद्धतिमा परिवर्तन आउनुका साथै गुणस्तरीयतामा समेत सुधार हुने उनको विश्वास छ । 

मुलुकभरका स्थानीय तहमध्ये आफूहरूले पहिलो पटक सो तालिम सञ्चालन गर्न लागेको उनले जानकारी दिइन् । सोका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाइन् । साथै शिक्षकहरूको क्षमता विकासको लागि विषयगत तालिम दिइने उनले बताइन् । 

उनका अनुसार नगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । आर्थिक रुपमा विपन्न परिवारका सदस्यको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि नगरपालिकाले आवेदन माग गर्ने र छनौट गरी छात्रवृत्ति वितरण गरिने उनले सुनाइन् । 

साथै, नगरपालिकाले स्थानीय पाठ्यपुस्तक हाम्रो माइ नगर लेखन कार्य सुरु गरेको छ । विगतको वर्षदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले चालु आवदेखि पाठ्यपुस्तक लेख्न थालेको उनले सुनाइन् । 

उनका अनुसार कक्षा ४, ५ र ८ को पाठ्यपुस्तक छपाइको लागि पठाइसकेको छ । १ र ३ को लेखन कार्य सुरु गरेको उनको भनाइ छ । पाठ्यपुस्तकमा स्थानीय स्रोत साधन, पहिचान, मौलिकता तथा विभिन्न पक्ष समेटिएको उनले सुनाइन् ।