close

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

Trulli
ADVERTISEMENT

उदयपुर - सामान्यत: विद्यार्थीको पढाइ अवधिको निरीक्षण गर्ने जिम्मेवारी शिक्षकको हुन्छ । स्कूल समयको अवधि अनुसार विद्यार्थी आउने र जाने, कक्षा कोठा कार्य सहभागिता हेर्ने अधिकार शिक्षकको हुन्छ । तर कटारी नगरपालिकामा शिक्षकको कार्य अवधि हेर्न जिम्मेवारी विद्यार्थीसँग छ । 

नगरपालिकाले विद्यार्थीलाई एक कागज दिएको हुन्छ । सो कागजमा शिक्षक कक्षामा छिरेको समय, पढाएको समय र निस्किएको समय टिपोट गर्छन् । सो टिपोट विद्यालयको प्रधानाध्यपाक हुँदै नगरपालिकाको शिक्षा शाखासमक्ष पुग्छ । कम कार्यवधि भएमा नगरपालिकाले सोही बमोजिम कारबाहीको प्रक्रिया सुुरु गर्ने नगरपालिकाको शिक्षा शाखाका प्रमुख सूर्यबहादुर कार्कीले बताए । 

साे जिम्मेवारी कक्षाभित्रका सबै विद्यार्थीलाई हुने उनले जानकारी दिए । अधिकांश शिक्षकले कार्यवधिभन्दा आधा समय मात्रै पढाउने भएपछि नगरपालिकाले सो नीति कार्यान्वयनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । उनका अनुसार सो कार्यक्रम गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको हो । कार्यक्रम सञ्चालनमा ल्याएसँगै शिक्षकको कार्यवधिसमेत बढेको उनको भनाइ छ । 

'शिक्षकलाई समय पालन गराउनका लागि हामीले यो  कार्यक्रम सञ्चालनमा ल्याएका हौँ,' उनले भने, '४५ मिनेटको कक्षामा २० मिनेटमात्रै पढाएका पायौँ ।' शिक्षकलाई पूर्ण रुपमा कक्षा उपस्थित गराउनका लागि नगरपालिकाको शिक्षक र प्रधानाध्यापकसँग छलफल गरी सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले सुनाए ।

सो कार्यक्रम सञ्चालनमा ल्याएको दोस्रो महिनादेखि ३० मिनेट हुँदै हाल पूर्ण रुपमा कक्षाकोठामा पढाउने गरेको उनले दाबी गरे । शिक्षकको समयसीमा पालना गराउनका लागि नगरपालिकाले पनि अनुगमन गर्दै आएको उनले सुनाए । पूर्णरुपमा पढाइ हुन थालेसँगै पालिकाको शैक्षिक गुणस्तरीयता पनि सुधार भएको उनले जिकिर गरे । 

नगरपालिकाले शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा गुरु योजना सञ्चालनमा ल्याउन लागेको छ । पञ्चवर्षीय योजनामार्फत सो कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । 

गुरुयोजनामार्फत शिक्षकलाई प्रविधि त्री बनाउनका लागि तालिम, प्रधानाध्यपाकलाई तालिम तथा सर्पोट कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । नगरपालिकाले गुरुयोजना बनाए पनि कानून नभएको उनले दुखेसो पोखे । 

'गुरु योजना बनाए पनि कानुन बन्न सकेको छैन । कानुन निर्माणको लागि हामी छलफल र बहसको प्रक्रियामा छौँ,' उनले भने । गुरुयोजनाको लागि आवश्यक तयारी पूरा भएसँगै कार्यान्वयनमा जाने उनले सुनाए । 

प्रधानाध्यापकलाई प्रोत्साहन गर्नको लागि मासिक भत्ता समेत वितरण गरिने उनले बताए । 'प्रधानाध्यापकलाई सरकारीले दिने तलबमा थप मासिक भत्ता वितरण गछौँ,' उनले भने, 'प्राविलाई पाँच हजार, निमाविलाई आठ हजार र माविलाई १० हजार रुपैयाँ भत्ता वितरण गछौँ ।'

तर शैक्षिक गुणस्तरीयतामा सुधार नभएमा सो प्रअलाई जिम्मेवारीबाट हटाई खुला प्रतिस्प्रर्धामार्फत व्यवस्थापन गरिने उनले सुनाए ।  

नगरपालिकाले पालिकाभित्रका शिक्षक तथा विद्यार्थीलाई डायरी वितरण गर्दै आएको उनले बताए । 'शिक्षकलाई शिक्षक डायरी र विद्यार्थीलाई होमवर्क डायरी निःशुल्क वितरण गरेका छौँ,' उनले भने, 'गत वर्ष कार्यक्रम प्रभावकारी भएकाले चालु आवमा पनि निरन्तरता दिएका छौँ ।'

नगरपालिकाले ४ वटा विद्यालयबाट सुरु गरेको सो कार्यक्रम प्रभावकारी भएपछि चालु आवमा १९ वटामा कार्यान्वयनमा ल्याउने योजना उनले सुनाए । साथै नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधारको लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । 

पढाइलाई जीवनउपयोगी बनाउनका लागि नगरपालिकाले सातौँ पिरेडपछि सिलाई बुनाइ, पल्म्विङ र वाइरिङको कक्षा सञ्चालन गरिने उनले सुनाए । पालिकाभित्रका ३ वटा विद्यालयलाई छनौट गरी ९ र १० का विद्यार्थीलाई सो कक्षा सञ्चालन गर्ने योजना छ । 

चालु आवमा पाइलट प्रोजेक्टको रुपमा सञ्चालित सो कार्यक्रम प्रभावकारी भएमा अर्को वर्ष बजेट बढाउने उनले सुनाए । नगरपालिकाभित्र ८० वटा सामुदायिक र २० वटा निजी विद्यालय सञ्चालनमा छन् ।