close

इनरुवाका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिँदै

इनरुवाका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिँदै

Trulli
ADVERTISEMENT

सुनसरी– इनरुवा नगरपालिकाले सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने भएको छ । सामुदायिक विद्यालयको क्षमता बढाउन नगरपालिकाले अंग्रेजी माध्यमबाट पढाउन लागेको हो । 

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने उद्देश्यका साथ १५ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको नगरप्रमुख केदार भण्डारीले बताए । केहीमा पहिलेदेखि नै अंग्रेजी माध्यमबाट पढाइ हुने गरेपनि यस आर्थिक वर्षमा थप विद्यालयमासमेत सुरु गरिएको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाकी शिक्षा शाखाकी स्वस्तिका दाहालले ३० वटा सामुदायिक विद्यालय रहेको जानकारी दिइन् । सोमध्ये शारदा माध्यमिक विद्यालयको कक्षा १२ सम्म, जनता माविको कक्षा १ देखि १० सम्म र बाल मन्दिर माविमा कक्षा ५ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको उनले बताइन् । 

भगवती माविमा कक्षा १ देखि ४ सम्म र राजाजी रामजी महत्तो दास माविमा कक्षा १ देखि ३ सम्म पठनपाठन भइरहेको छ । अन्य १० वटा विद्यालयमा पनि कक्षा १ बाट अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको छ । हरेक वर्ष थप कक्षामा अंग्रेजी माध्यमबाट पढाइने उनले बताइन् ।

इनरुवालाई बालमैत्री स्थानीय शासन निर्माण गर्ने योजनासमेत बनाइएको नगरप्रमुख भण्डारीले बताए । उनको अनुसार विसं २०८३ फागुनमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने नगरपालिकाको योजना छ । 

बालमैत्री स्थानीय शासन निर्माणको लागि यस आर्थिक वर्षबाट विभिन्न क्षेत्रमा काम गर्नेगरि योजना तयार गरेको उनले बताए। वडा स्तरबाट बालमैत्री स्थानीय शासनको अवधारणालाई लागु गर्दै लैजाने उनले बताए । यसको लागि वडास्तरीय बाल सञ्जाल गठन गरिएको उनले बताए ।