close

२३ बुहारीलाई रोजगारी दिँदै सूर्योदय

२३ बुहारीलाई रोजगारी दिँदै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गरेका बुहारीलाई १०० दिनको रोजगारी दिने भएको छ । विद्यार्थीले पढेको संकाय, विषय र उनीहरूको क्षमताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाबाट रोजगार पाउनका लागि छात्रवृत्तिमा अध्ययन गरेका बुहारी, विपन्न परिवारका छोरी र करफोक क्याम्पसबाट स्नातक पास गरेका हुनुपर्ने प्रावधान छ । नगरपालिकाले करफोक क्याम्पसमा अध्ययन गर्ने सबै बुहारीलाई विगत ४ वर्षदेखि शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आइरहेको नगरप्रमुख रणबहादुर राईले पालिकाखबरलाई बताए । यससँगै विपन्न परिवारका छोरीहरूलाई पनि छात्रवृत्ति दिँदै आए पनि विपन्न छोरीको संख्या अति न्यून रहेको नगरप्रमुख राईको भनाइ छ । 

नगरप्रमुख राईका अनुसार हालसम्म छात्रवृत्तिबाट पढ्ने २३ बुहारीले मात्र स्नातक तह पास गरेका छन् । सबैजनालाई १०० दिने रोजगारी दिन लागिएको नगरप्रमुख राईको भनाइ छ । सूर्योदय नगरमा बिहे भएर आएका बुहारी र यहाँका छोरीहरूलाई नगरले करफोक क्याम्पसमा स्नातक तहको पढाइमा शतप्रतिशत छात्रवृत्ति दिँदै आएको हो ।

बिहे भएर घर आएपछि बुहारीलाई पढाउनुपर्छ भन्ने सोच सबैमा विकास गर्न नगरले चार वर्षयता ‘छोरी–बुहारी’लाई छात्रवृत्तिको कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । ‘स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ ।’

नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म १५८ छोरी–बुहारीले स्नातक अध्ययन गरेका छन् । यस कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।