close

शिक्षामा सुधार गर्न बुद्धशान्तिमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम

शिक्षामा सुधार गर्न बुद्धशान्तिमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम

Trulli
ADVERTISEMENT

झापा– बुद्धशान्ति गाउँपालिकाले सामुदायिक विद्यालयमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम लागू गरेको छ । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ मंसिर पहिलो सातादेखि सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गरेको हो ।

सामुदायिक विद्यालयका अभिभावकले आफ्ना बच्चाहरुको पढाईका बारेमा चासो नराख्ने र विद्यालयको भरमा मात्रै रहने भएकोले सो कार्यक्रम लागू गरिएको  शिक्षा, युवा, खेलकुद तथा समाज कल्याण शाखाकी झल्का अधिकारीले बताइन् । अभिभावकले पनि बालबालिकालाई घरमा समय दिनुपर्ने रहेछ भन्ने मान्यता राख्न अभिभावक शिक्षा दिन सो कार्यक्रम लागू गरेको बताइन् । 

१६ वटा सामुदायिक विद्यालयमा ‘हाम्री आमा राम्री आमा’ कार्यक्रम सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हालसम्म सचेतनाको कार्यक्रम ८ वटा सामुदायिक विद्यालयमा सकियो । बाँकी ८ वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्ने तयारीमा छौँ ।’

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाबुवाहरुका बालबालिकाहरुको पढाइका बारेमा जानकारी लिन र दिन अभिभावकलाई विद्यालय परामर्श दिने कार्यक्रम लागु गरेको अधिकारीले सुनाइन् । अभिभावकले आफ्ना नानी बाबुका विषयमा जागरुक भएमा बादबालिकाले पढाइप्रति रुचि राख्ने उनको विश्वास छ । 

उनले थपिन्, ‘प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरु मोबाइल बढी हेर्ने र पढाइप्रति रुचि नहुँने बढेको छ ।  आमाले बालबालिकाको घरमा हेरचाह हुन्छ । साथै घर नै पहिलो विद्यालय भएकोले अभिभावकहरुलाई सचेतना गराउन लागेका हौँ,’ अभिभावक शिक्षाले सामुदायिक विद्यालयका विद्यार्थीको गुणस्तर सुधार गर्न सकिने उनले बताइन् । 

 ‘हाम्री आमा, राम्री आमा’ कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले ४ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उनले जानकारी दिइन् ।