close

ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री

ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री

Trulli
ADVERTISEMENT

पाल्पा- संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।
 
समयानुकूल प्रविधिको प्रयोगमा सामुदायिक विद्यालयले जोड दिन थालेपछि विद्यार्थीको सङ्ख्या बढ्दो छ । सामुदायिक विद्यालयले प्रविधिमा विद्यार्थीलाई अब्बल बनाउन सुबिधा सम्पन्न प्रयोगशाला तयार पारेर कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउँदै लगेका छन् । 

शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठुला कक्षाका विद्यार्थीलाई फरक–फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था गराइएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । 'तल्ला र माथिल्ला कक्षाका विद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ, विषय शिक्षकले पाठअनुसार सम्बन्धित विषयवस्तुको बारेमा प्रयोगशालामा विद्यार्थी लगेर शिक्षण कार्य गराउनुहुन्छ, कम्प्युटर सिक्ने भनेपछि विद्यार्थी धेरै उत्सुक हुने गर्दछन्', उनले भने ।

धेरै समय अघिदेखि नै यस विद्यालयमा कम्प्युटर कक्षा हुने गरेको थियो भने दुईवर्षदेखि व्यवस्थित रुपमा कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यहाँको कम्प्युटर प्रयोगशाला नमुना खालको छ । 

कम्प्युटर प्रयोगशालालाई व्यवस्थित बनाएपछि विभिन्न स्थानबाट अवलोकन गर्न आउने क्रम बढ्दै गएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई एकै कोठामा ३० कम्प्युटरको व्यवस्था छ । साना कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै कोठामा १५ कम्प्युटर सिकाइका लागि व्यवस्था गरिएको छ । इभेण्ट परियोजनाको सहयोगमा रु ३२ लाख बराबरको लागतमा व्यवस्थित कम्प्युटर प्रयोगशाला प्रयोगमा ल्याइएको प्रअ लम्सालले बताए।  
 
कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउन थालेपछि शिक्षण कार्यमा विद्यार्थीको रुचि बढेको गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बताए । यस विद्यालयमा एकै पटकमा २० जना विद्यार्थीले बसेर कम्प्युटर सिक्ने व्यवस्था छ । कम्प्युटरका अलवा शिक्षण कार्यसँग सम्बन्धित अन्य प्रविधि, पुस्तकालय, शैक्षिक सामग्री लगायतको प्रयाप्त सुविधा विद्यालयले दिइरहेको छ ।

यहाँका सामुदायिक विद्यालय प्रविधिको प्रयोगमा संस्थागत विद्यालयको तुलनामा अग्रपङ्क्तिमा रहेको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । तल्ला कक्षादेखि नै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सिकाइमा जोड, अतिरिक्त क्रियाकलाप, आधुनिक शैक्षिक सामग्री लगायतमा सामुदायिक विद्यालयको अग्रसरता रहेको उनको भनाइ छ ।सामुदायिक विद्यालय भनेपछि पढाइ राम्रो हुदैन भन्ने नकारात्मक दृष्टिकोण अहिले अभिभावकमा हट्दै गएको पाइएको छ ।

निजी विद्यालयमा सरह नै प्रयाप्त शैक्षिक सामग्री, प्रविधिमैत्री शिक्षा दिन थालेपछि अभिभावकको सामुदायिक विद्यालय रोजाइमा परेका छन् । यहाँका रामतुलसी, गङ्गा, दरैठाँटी, जनविकास लगायतका विद्यालय मावि तहमा शैक्षिक क्षेत्रमा अब्बल मानिन्छन् । यी विद्यालयको अनुशरण गर्दै अन्य विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा सुधार गर्दै गएका छन् । 

विद्यालयमा नै व्यवस्थित कम्प्युटर सिक्ने सुविधा भएपछि बाहिर इन्सिच्युटमा आधारभूत सिकाइका लागि जानु परेको छैन । विद्यालयले समयानुकुल प्रविधियुक्त शिक्षा प्रदान गर्न छुट्टै कम्प्युटर शिक्षकको व्यवस्था गरी पठनपाठनको व्यवस्था मिलाएको छ । समय समयमा सिकाईस्तर वृद्धि गर्न शिक्षकलाई विभिन्न तालिम, गोष्ठीको आयोजना, शैक्षिक गुणस्तर उकास्न अभिभावक, सरोकारवालासँग सुझाव सङ्कलनको कार्य भइरहेको छ ।