close

दिवा खाजामा काेदाेकाे पुवा !

दिवा खाजामा काेदाेकाे पुवा !

Trulli
ADVERTISEMENT

अछाम– दिवा खाजाको रुपमा के खान मन पराउनु हुन्, चाउचाउ, मम, चाउमिन या अन्य फास्टफुड ? तर तपाईले कहिल्यै खाजाको रुपमा कोदोको पुवालाई खानु भएको छ ? यदि छैन भने आउनुस् चौरपाटी गाउँपालिकाका सामुदायिक विद्यालयमा । जहाँ हप्ताको २ दिन कोदोको पुवालाई नै दिवा खाजाका रुपमा दिने गरिन्छ ।

चौरपाटी गाउँपालिकाअन्तर्गतका विद्यालयमा दिवा खाजामा हप्ताको दुई दिन कोदोको पुवा, मकैको च्याख्ला र गेडागुडी दिदै आएको छ । गाउँपालिकाले सिजनअनुसार खाजामा परिवर्तन गर्नुका साथै तीन वटा खाजाको मेनु थप्ने योजनामा रहेको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रामचन्द्र जोशीले बताए ।

पालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालय र ११ वटा बालविकासमा साे कार्यक्रम सञ्चालन गर्दै आएकाे उनले पालिकाखबरलाई बताए ।उनका अनुसार साे शैक्षिक संस्थामा करिब चार हजार जना विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीबाट खाजा उपलब्ध गराउदै आएको छ ।

स्थानीयस्तरमा किसानले उत्पादन गरेको रैथाने बाली कोदो, मकैलगायतका बालीलाई समृद्धिको लक्ष्य र बजारीकरणमा जोड दिइएको अधिकृत जोशीको भनाइ छ । गाउँपालिकामा सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी क्षेत्रबाट रैथानेबाली प्रसस्तै उत्पादन हुने गरेको उनले बताए ।

चालु आर्थिक वर्ष२०८०/०८१ मा गाउँघरकै उत्पादित अन्नबालीलाई विद्यालयको दिवाखाजामा दिने गरेको उनले बताए । 

'गाउँघरमा उत्पादन भएका बालीलाई सहकारीले संकलन तथा मोडिफाइ गरेर स्कुलमा पकाएर विद्यार्थीलाई दिवा खाजामा दिदै आएका छौँ ,' उनले भने । उक्त बाली संकलन तथा भण्डारणको लागि पाँच वटा सहकारीलाई जिम्मा दिएको उनले बताए । 

विद्यालयको दिवा खाजा कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई दिने गरेको छ । यसका लागि संघीय सरकारको कार्यक्रमको सर्शत अनुदानअन्तर्गत एक करोड ३५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।