close

विद्यार्थीको बैंक खाता अनिवार्य, दैनिक एक रुपैयाँ बचत

विद्यार्थीको बैंक खाता अनिवार्य, दैनिक एक रुपैयाँ बचत

Trulli
ADVERTISEMENT

स्याङ्जा - फेदीखोला गाउँपालिकाले सबै विद्यार्थीको नाममा बैंक खाता खोल्न अनिवार्य गरेको छ । गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको नाममा बैंक खाता खोल्न अनिवार्य गरेको हो । 

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीकाअनुसार विद्यार्थीहरुको उज्वल भविष्यको लागि पालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले प्राइम कर्मसियल बैंकसँग सम्झौता गरी सो कार्यक्रम सोमबारदेखि सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार विद्यार्थीको उज्वल भविष्यको सुनिश्चितता, उच्च शिक्षा अध्ययनको लागि सहज गर्न, बचत गर्ने बानीको विकास गर्न र जंकफुडलाई न्यूनिकरण गर्नको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । पालिकाभित्र नर्सरीदेखि कक्षा १२ सम्म अध्ययरत सबै विद्यार्थीले अनिवार्य रुपमा बैैक खाता खोल्नु पर्ने उनले सुनाए । 

बैंक खाता खोलेसँगै गाउँपालिकाले विद्यार्थीको छात्रवृत्तिको रकम सोहीमार्फत हस्तान्तरण गरिने उनको भनाइ छ । खाता खोलिसके पछि गाउँपालिका र बैंकले १००/१०० रुपैयाँको दरले २०० रुपैयाँ जम्मा गरिदिने उनको भनाइ छ । साथै बैैंक खातामा दैनिक एक रुपैयाँको दरले न्यूनतम ३६५ रुपैयाँ अनिवार्य रुपमा जम्मा गर्नुपर्ने छ । 

गाउँपालिकाले उद्यम गर्न चाहने विद्यार्थीलाई स्र्टाटअफ फण्डको रुपमा तीन हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने उनले सुनाए । उनका अनुसार गाउँपालिकाभित्र सञ्चालित २१ वटा सामुदायिक विद्यालयबाट दुई हजार १६९ जना विद्यार्थी सो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।