close

गाउँपालिकाकाे बुहारी शिक्षा कार्यक्रम : बुहारी नै नभएपछि कार्यान्वयन हुनुभन्दा पहिले अध्यक्षलाई चिन्ता

गाउँपालिकाकाे बुहारी शिक्षा कार्यक्रम : बुहारी नै नभएपछि कार्यान्वयन हुनुभन्दा पहिले अध्यक्षलाई चिन्ता

Trulli
ADVERTISEMENT

गोरखा– भिमसेनथापा गाउँपालिकाले पालिकाभित्रै बुहारीलाई राख्ने उद्देश्यले ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’को सुरुवात गर्दै छ । तर गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)लाई अहिले नै कार्यक्रम विफल हुने चिन्ता छ । 

उच्च शिक्षा, रोजगारी र बालबालिकाहरुलाई बोर्डिङमा पढाउने शोखका कारण दुर्गम गाउँपालिकाबाट शहर तथा सदरमुकाम केन्द्रित हुन थालेपछि अध्यक्ष बन्जराले सो कार्यक्रमको अवधारणा ल्याएका थिए । कार्यक्रमको सुरुवात पूर्व कार्यविधि तथा कानुन बनाउने क्रममा नै सुझाव दिनेहरूले प्रभावकारी नहुने सुझाव दिएपछि अध्यक्ष चिन्तित बन्न थालेका हुन् । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमबाट कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्न लागेको अध्यक्ष बन्जराले बताए । उनले भने, ‘हाम्रो समाजमा छोरी बुहारीलाई कम पढाउने भएकाले कार्यक्रम ल्याएका हौँ । तर बुहारीहरू गाउँमा नै नबस्ने भएर पो बर्बाद छ त ।’

बुहारीहरूलाई गाउँमा नै अध्ययन गर्ने वातावरण तयार पार्न सो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । ‘सन्तान जन्माएपछि बुहारीहरू सन्तानलाई पढाउनका लागि पनि पालिका छाड्ने भएकाले पालिकामा आकर्षित गर्न बुहारी शिक्षा प्रदान गर्न लागेका हौँ । हाम्रो यो कार्यक्रमले धेरै फरक त नपर्ला । तरपनि कोसिस गर्न खोजेको हो ।’ 

श्लोगनमा बुहारी शिक्षाको कुरा मात्र उल्लेख भए पनि छोरीहरुलाई पनि उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गर्ने उनले जानकारी दिए । शहर पलायन हुनबाट छोरी बुहारीलाई रोकेर गाउँमा नै राख्न खोजेको उनले बताए । 

चालु आर्थिक वर्षबाट सुरु गर्न लागेको सो कार्यक्रम गाउँपालिकामा लागु भने भइसकेको छैन । हाल सो कार्यक्रम प्रचारात्मक रहेको र लागु हुन भने बाँकी रहेको उनले सुनाए । छोरी, बुहारीलाई छात्रवृत्ति प्रदान गरेर ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सुरु गर्ने पालिका अध्यक्ष बञ्जराले बताए । 

कक्षा १२ सम्मको शिक्षाको लागि धेरै खर्च नलाग्ने भएकाले उच्च शिक्षाको लागि पनि पालिकाले छात्रवृत्ति प्रदान गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार बनाउने चरणमा गाउँपालिका रहेको उनले जानकारी दिए ।