close

अभिभावकलाई पढाउँछन् विदेहका विद्यार्थी

अभिभावकलाई पढाउँछन् विदेहका विद्यार्थी

Trulli
ADVERTISEMENT

धनुषा- विदेह नगरपालिकाका विद्यार्थीले आफ्नो अभिभावकलाई पढाउँदै आएका छन् । विद्यार्थीले नगरपालिकाको साक्षर अभियान अन्तर्गत अभिभावकलाई पढाउँदै आएका हुन् । 

नगरपालिकाको शिक्षा संयोजक सन्तोषकुमार यादवका अनुसार पालिकालाई साक्षर स्थानीय तह घोषणा गर्नको लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वीकृत कार्यक्रम अनुरुप नगरपालिकाभित्र निरक्षर रहेको व्यक्तिको साक्षरताको जिम्मेवारी शिक्षक र विद्यार्थीलाई दिइएको उनले पालिकाखबरलाई सुनाए । 

परिवारको सदस्यलाई साक्षर बनाउनका लागि नगरपालिकाले १५० जना विद्यार्थीलाई अभिमुखिकरण गरेको उनले सुनाए । विद्यार्थीले फुसर्दको समयमा आफ्नो अभिभावकलाई पढाउन सक्ने उनको भनाइ छ । 

नगरपालिकाले बजेट विनियोजन गरेसँगै केही महिना अघिदेखि निरक्षर अभिभावकलाई बढाउन सुरु भइसकेको थियो । तर विद्यालयको अन्तिम परीक्षा तथा एसईई नजिकिएकोले केही समयको लागि सो  कार्यक्रम स्थगित गरिएको उनले बताए । 

'केही महिनादेखि कार्यक्रम सुरु भएको थियो । तर विद्यार्थीको परीक्षा नजिक भएकाले केही समयको लागि स्थगित गरिएको छ,' उनले भने, 'विद्यार्थीको पढाईमा असर नहोस् भन्ने हेतुले स्थगित गरेका हौँ ।'

परीक्षा सकिएसँगै बैशाखको अन्तिम हप्तादेखि सो कार्यक्रमलाई पुन निरन्तरता दिइने उनले बताए । अभिभावकलाई साक्षर बनाउने विद्यार्थीलाई नगरपालिकाले प्रमाणपत्रसहित सम्मान गरिने उनले जानकारी दिए । 

'अभिभावकलाई पढाउने विद्यार्थीको लिस्ट संकलन गर्ने छौँ । विद्यालयले दिएको लिस्टको आधारमा विद्यार्थीलाई सम्मान गर्ने छौँ,' उनले भने ।

नगरपालिकामा गत वर्षसम्म छ हजार जना स्थानीय बासिन्दा निरक्षर थिए । तर चालु आवमा सोबारे डाटा आउन बाँकी रहेको उनले बताए । नगरपालिकालाई साक्षर स्थानीय तह घोषणा गरेसँगै औँठाछापलाई विस्थापित गर्ने छ । 

सामाजिक सुरक्षा भत्ता वा पालिकामा सेवा लिने हरेक स्थानीय बासिन्दाले नाम लेखेर हस्ताक्षर गर्नुपर्ने नीति लिने उनले सुनाए ।