close

शैक्षिक शुल्क पेश गर्न इटहरीको निर्देशन

शैक्षिक शुल्क पेश गर्न इटहरीको निर्देशन

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क प्रस्ताव पेश गर्न निर्देशन गरेको छ । उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्कमा एकरुपता ल्याउनका लागि सो निर्देशन दिएको होे । 

उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख द्रोणप्रसाद दाहालका अनुसार संस्थागत विद्यालयले माघ मसान्तसम्म शुल्कको प्रस्ताव पेश गर्नुपर्ने छ । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा ६ को व्यवस्था बमोजिम शुल्क सिमांकन गरी शैक्षिक सत्र २०८१ मा लिइने शुल्कको प्रस्ताव पेश गर्न अनुरोध गरेको उनले पालिकाखबरलाई सुुनाए । 

उपमहानगरपालिकाको नियमित कार्यक्तम रुपमा रहेको उनले बताए । ‘विद्यालयले अभिभावक भेला बोलाएर सर्वसम्मत निर्णय गरेर सञ्चालक समितिमार्फत जहिले पनि माघ मसान्तसम्ममा पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्ने हुन्छ,’ उनले भने ।

विद्यालयले पेश गरेको शुल्क प्रस्तावलाई टुंगोमा पुर्याउनका लागि गाउँपालिकाले समिति गठन गर्ने उनले सुनाए । सोले विद्यालयको स्थलगत अनुगमन गरी नगरको शिक्षा समितिबाट शुल्क पारित हुने उनको भनाइ छ  । 

उनका अनुसार संस्थागत विद्यालयको शुल्कको निर्धारण पहिला जिल्ला शिक्षा कार्यालयबाटै हुने गरेको थियो । ‘तर २०७६ पछि शुल्क निर्धारण नभएपछि विद्यालयको सञ्चालक समितिले र्नै निर्णय गर्ने रहेछ,’ उनले भने ।

उपमहानगरपालिका भित्रका केही संस्थागत विद्यालयले मनपरी शुल्क लिने गरेको गुनासो आएको उनले बताए । सो गुनासो कम गर्नको लागि पनि शुल्क पेश गर्न अनुरोध गरेको उनको भनाइ छ । 

उपमहानगरपालिकाले स्थलगत अनुगमन गरी विद्यालयको स्तरसँगै शुल्क पनि निर्धारण गरिने उनले बताए । हाल उपमहानगरपालिकाभित्र १३४ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।