close

विद्यार्थीकाे कक्षाकाेठामा अभिभावक छिरेपछि...

विद्यार्थीकाे कक्षाकाेठामा अभिभावक छिरेपछि...

Trulli
ADVERTISEMENT

इलाम - रोङ गाउँपालिकाले विद्यार्थीसँगै अभिभावकलाई पढाउन थालेको छ । गाउँपालिकाले पालिकाभित्रको शैक्षिक सुधार गर्ने उदेश्यले प्रत्येक महिनाको एक दिन अभिभावकलाई पढाउन थालेको हो । 

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको अभिभावक शिक्षा कार्यक्रममार्फत महिनाको एक दिन अभिभावकलाई पालिकाले पढाउन थालेको हो । सामुदायिक विद्यालयमा अध्ययरत सबै बालबालिकाको अभिभावकले अनिवार्य रुपमा सो शिक्षा लिनु पर्ने उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले माघ २६ गतेबाट कक्षा १ देखि ५ मा पढ्ने बालबालिकाको अभिभावकबाट सो कार्यक्रम सुरु गरेको उनको भनाइ छ । गाउँपालिकाले हाल ११ वटा सामुदायिक विद्यालयका अभिभावकमा सो शिक्षा दिएको र बाँकी १९ वटा विद्यालयमा पनि लागू गरिने उनले सुनाए । उनका अनुसार गाउँपालिकाभित्र ३० वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । 

अभिभावक शिक्षामा बाल स्याहार, बाल पोषण, संस्कार, बाल अधिकार, अभिभावकको जिम्मेवारी, स्वास्थ्य लगायत विभिन्न विषयबारे करिब तीन घण्टा पढाउने उनको भनाइ छ । सो कार्यक्रममा सबै अभिभावकको अनिवार्य उपस्थिती रहने उनले सुनाए । 

कार्यक्रममा सहभागी नभएका अभिभावकलाई वडाबाट दिने सेवा र सुविधाहरुसमेत बञ्चित गरिने उनको भनाइ छ । 

शैक्षिक सुधारमा अभिभावक  पनि जिम्मेवार 
अभिभावक शिक्षा कार्यक्रमले विद्यार्थीको शिक्षा सुधारको लागि अभिभावकसमेत जिम्मेवार रहनुबारे सचेत गराइने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । 'हाम्रोमा विद्यार्थीको शैक्षिक जिम्मेवारीको ठेक्का शिक्षकलाई मात्रै छ, उनले भने तर यसमा शिक्षक सरह अभिभावक पनि जिम्मेवारी हुनुपर्छ,' उनले भने,'यही कुरा हामी सिकाउने छौँ । अभिभावकलाई पनि जिम्मेवार बनाउने छौँ ।'

अभिभावक शिक्षामा ३१० जना अभिभावकको सहभागिता रहेको उनले सुनाए । 'सोमध्ये ३ जना स्नातकोत्तर गरिसकेका थिए । कार्यक्रममा सहभागी भएका अभिभावकसँग मैले पनि कुरा गरे । अधिकांश सकारात्मक नै हुनुहुन्थ्यो, ' उनले भने । 

कार्यक्रमलाई  उच्च प्रबिधिको प्रयोगले विवरण ब्यवस्थापनमा सहज  भएको उनले सुनाए । साथै वडा कार्यालय, शिक्षा शाखा तथा गाउँपालिकाले अभिभावक उपस्थिती सोही समयमा प्रत्यक्ष हेर्न मिल्ने जसको कारणले अनुपस्थित अभिभावकलाई नियम अनुसार कडाई गर्न गाउपालिकालाई सहज हुने उनले बताए ।