close

छात्रावृत्तीमा एमबिबिएस पढ्ने विद्यार्थी नभेटिएपछि पुन: सूचना प्रकाशन

छात्रावृत्तीमा एमबिबिएस पढ्ने विद्यार्थी नभेटिएपछि पुन: सूचना प्रकाशन

Trulli
ADVERTISEMENT

नुवाकोट– ककनी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ती उपलब्ध गराउन आवेदन माग गर्दा कसैको निवेदन नपरेपछि पुन: सूचना प्रकाशित गरेको छ । 

गाउँपालिकाले गत मंसिर २५ गते सूचना जारी गर्दै सामुदायिक विद्यालयबाट एसइइ तथा एसएलसी पास गरेर एमबिबिएस अध्ययन गरिरहेका विद्यार्थीबाट छात्रावृत्तीको लागि आवेदन माग गरेको थियो । सो सूचना अनुसार सामूदायिक विद्यालयमा अध्ययन गरेका कुनै पनि विद्यार्थीको आवेदन नपरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव ज्ञवालीले बताए । 

उनका अनुसार गत आर्थिक वर्षदेखि गाउँपालिकाले इन्जिनियरिङ र एमबिबिएस अध्ययनका लागि विद्यार्थीलाई छात्रावृत्ती उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । गत वर्ष पनि इन्जिनियरिङ अध्ययनका लागि एकजना विद्यार्थीको आवेदन परेको तर एमबिबिएसमा एउटा पनि आवेदन नपरेको उनले पालिकाखबरलाई बताए । 

यस वर्ष पनि इन्जिनियरिङ अध्ययनका लागि एकजना विद्यार्थीको आवेदन परेको उनले बताए ।  तर एमबिबिएस अध्ययनका लागि सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको आवेदन नपरेपछि निजी विद्यालयबाट एसएलसी तथा एसइइ पास गरेका विद्यार्थीले समेत आवेदन दिन मिल्ने गरि सूचना पुन प्रकासित गरिएको उनले बताए । 

उनका अनुसार गाउँपालिकाले प्रत्येक वर्ष एक’एक जना विद्यार्थीको इन्जिनियरिङ तथा एमबिबिएस अध्ययनमा लाग्ने कुल खर्चको ५० प्रतिशत शुल्क छात्रावृत्तीस्वरुप गाउँपालिकाले उपलब्ध गराउँछ । तर आधा रकम खर्च गरेरसमेत सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले एमबिबिएस अध्ययन गर्न सक्ने अवस्था नभएकाले छात्रावृत्तीका लागि आवेदन नपरेको हुनसक्ने उनको भनाइ छ ।