close

घोराही बनाउँदै ग्रेडर चालक अनिता

घोराही बनाउँदै ग्रेडर चालक अनिता

Trulli
ग्रेडर मेसिनमा अनिता थारु
ADVERTISEMENT

दाङ । दाङको घोराहीका सहरदेखि गाउँसम्म लथालिङ्ग सडक मर्मत तथा नयाँ बन्ने सडकको ट्र्याक खोल्दा सधैँ ग्रेडर मेसिनमा व्यस्त देखिन्छिन्, अनिता थारु । नेपालमा सानाभन्दा हेभी सवारी चलाउने महिलाको संख्या न्यून भएकै कारण अहिले थारु चर्चामा आएकी हुन्। विगत चार वर्षदेखि दाङलगायतका स्थानमा सडक तथा पुल निर्माण हुँदा उनको हात खुट्टा ग्रेडर मेसिनमा व्यस्त हुँदै आएको छ।

डेढ वर्षदेखि भने उनी घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन् । त्यसैले अहिले उपमहानगरपालिकाले गर्ने विकास निर्माणको कार्यमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको छ। १२ कक्षासम्म अध्ययन गरेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनले बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन्। “मैले यहीँ आएर चलाउन सिकेकी हुँ”, चालक अनिता भन्छिन्।

“कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उनी भन्छिन्, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाएका थिए। भिनाजु काम गर्ने निर्माण कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिताले बताइन्।

निर्माण क्षेत्रको कार्यमा श्रम र पसिना धेरै बगाउनु पर्ने भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ । करिब एक वर्ष चलाउन सिकेपछि अनिता यो मेसिन चलाउन सिद्धहस्त बनिन्। तर सवारी चालक अनुमतिपत्रको अभावमा उनले भने जस्तो काम पाइनन्। २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिँदा उत्तीर्ण भएका १३ जनामध्ये अनिता एक्ली महिला थिइन्।

“पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफल भएँ”,  गर्वका साथ अनिता भन्छिन्। त्यसपछि उनले जागिरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माण कार्यमा संलग्न हुने मौका पाइन्।

“ग्रेडर मेसिन चलाउन सक्थेँ, तर लाइसेन्स नहुँदा समस्या थियो”, उनी भन्छिन्, “२०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए। ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भएपनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनी बताउँछिन्।

“अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, अनिताको भनाइ छ, “तर आफूभित्रको आत्मविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ।” निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ। बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न अरू महिलालाई पनि उनको सल्लाह छ।

“निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि म यही पेसामा सन्तुष्ट छु”, उनी भन्छिन्, “धेरै पढेको भए ठुलो अपेक्षा हुन्थ्यो र अरू काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठिक छ।”