close

डोल्पाका विद्यालय : शनिबार छैन छुट्टी, दशैंमा एक दिन बिदा

डोल्पाका विद्यालय : शनिबार छैन छुट्टी, दशैंमा एक दिन बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं– बैसाखबाट नयाँ शैक्षिक सत्र सुरु भई चैतमा वार्षिक परीक्षा दिनु देशभरको शैक्षिक क्यालेन्डर हो । क्यालेन्डरअनुसार अधिकांश विद्यालयहरु दोस्रो त्रैमासिक परीक्षा सञ्चालनको तयारीमा छन् । 

तर, डोल्पाको तीनवटा स्थानीय तहमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा सम्पन्न भइसेको छ । चिसो सुरु भएसँगै ३ वटै स्थानीय तहमा करिब ६ महिनाका लागि विद्याल बन्द भइसकेका छन् । धेरैजसो विद्यार्थीहरू अभिभावकसहित यार्सा टिप्न हिमालतिर गइसकेका छन् । 

शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका सबै विद्यालयहरु बन्द भइसकेका छन् । दशैंपछि वार्षिक परीक्षा सञ्चालन गरेर विद्यालय बन्द गरिएको छार्का ताङसोङ गाउँपालिकाको शिक्षा प्रमुख प्रिङ्काकुमारी जोशी बताउँछिन् । उनका अनुसार अब चैतमा मात्र पालिकाभित्रका सबै विद्यालय खुल्छन् । यस वर्ष बैसाखदेखि नै शैक्षिक सत्र सुरु भए पनि ६ महिनामा विद्यालय सञ्चालनका दिन थोरै भएकाले गाउँ कार्यपालिकाले आगामी शैक्षिक सत्र चैतबाट सुरु गर्ने निर्णय गरेको उनी बताउँछिन् । 

‘बैसाखदेखि विद्यालय सुरु भएर कात्तिकसम्म चल्छ । त्यो समयमा दशैँमा एकदिन र शनिबार बाहेकका दिनमा बिदा हुँदैन ।’ कातिकबाट गाउँपालिकामा हिमपात र अत्याधिक चिसो बढ्ने भएकाले जाडोयामभर विद्यालय बन्द हुने गरेको उनले पालिकाखबरसँग बताइन् । 

गाउँपालिकामा रहेका विद्यालयमा पनि विद्यार्थी संख्या अत्यन्त न्यून छन् । उनका अनुसार गाउँपालिकामा आधारभूत तहसम्म मात्र पढाइ हुने विद्यालय छन् । गाउँपालिकामा ७ वटा आधारभूत विद्यालय रहेकोमध्ये २ वटा विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । बाँकी विद्यालयमा कक्षा ३ सम्ममात्र पढाइ हुने उनले जानकारी दिइन् । 

‘तीन कक्षासम्म यहाँ पढाएपछि नेपालगञ्ज र काठमाडौंमा लगेर अभिभावकहरूले पढाउँछन् ।’ पालिकामा तीन कक्षाभन्दा माथि पढ्ने विद्यार्थीहरुको अभाव रहेको उनले बताइन् । उनले भनिन्, ‘ गाउँपालिकाको वडा नं ४ काजकोट पालिकाको केन्द्र समेत हो । त्यहाँको तेन्जिङ नोर्बु आधारभूत विद्यालयको कक्षा ८ मा पढ्ने विद्यार्थीहरु तीनजना मात्र छन् ।’ हाल गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या १८५ जना रहेको उनले सुनाइन् । 

यस्तै, डोल्पाकै शे फोक्सुण्डो गाउँपालिकामा दशैंपछि परीक्षा भएर विद्यालय बन्द भएको छ । गाउँपालिकामा सञ्चालनमा रहेका १३ वटा विद्यालयमा नै वार्षिक परीक्षा सकिएर विद्यालयहरु बन्द भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर श्रीसले बताए  । 

उनका अनुसार गाउँपालिकामा बैसाखदेखि कातिकसम्म विद्यालयमा पठनपाठन हुन्छ । ‘असोजमा नै ठाउँठाउँमा हिउँ परेर चिसो बढिहाल्छ । ढिलोमा कात्तिक १५ गतेसम्म परीक्षा लिइसकिन्छ,’ उनले भने । ६ महिना लामो समयपछि परीक्षा लिँदा विद्यार्थीहरुलाई परीक्षा दिन समस्या हुने भएकाले कात्तिकमा नै वार्षिक परीक्षा लिने गरेको उनले बताए । गाउँपालिकामा शैक्षिक सत्र अन्य स्थानमा जस्तै बैसाखबाट सुरु हुने उनले बताए । 

शिक्षा ऐनले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था गरेको छ । तर, ६ महिनामा विद्यालय खुल्ने समय पूरा नहुने भएकाले विद्यालय खुल्ने समयमा विदाको दिनमा पनि पढाइ हुने गरेको उनले सुनाए । गाउँपालिकामा पढाइ हुने समयमा शनिबार पनि बिदा हुँदैन । पाठ्यक्रमलाई समयमा सिध्याउने गरी पढाउन बिदाको दिनमा पनि पढाइएको उनको भनाइ छ । 

गाउँपालिकामा भोट समूदायको बाहुल्यता रहेकाले भोट समुदायको संस्कार, संस्कृति र परम्परा अनुसारको स्थानीय बिदामात्र दिइने गरेको उनले जानकारी दिए । गाउँपालिकामा  एउटामात्र माध्यमिक विद्यालय सञ्चालनमा छन् । ताप्रिचा माध्यमिक विद्यालय कक्षा १० सम्म पढाइ हुने पालिकाको एकमात्र मावि हो । 

अत्यधिक हिमपातका कारण हिउँदमा ६ महिनाको लागि डोल्पो बुद्ध गाउँपालिकाको विद्यालय पनि बन्द हुने गरेको छ । हिउँदमा माथिल्लो डोल्पा क्षेत्रका सबै विद्यालय बन्द हुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख अरुण दास बताउँछन् । उनका अनुसार ६ महिना विद्यालय खुल्दा स्थानीय विदाबाहेक शनिबारसमेत पढाइएको छ । गत दशैंमा एक दिनमात्र बिदा दिइएको थियो । 

बैसाखमा मानिस आवतजावतका लागि केही सहज मौसम हुने भएकाले विद्यालयहरु अब बैसाखबाट मात्र खुल्ने उनले बताए । गाउँपालिकामा कक्षा ९ सम्मको वार्षिक परीक्षा कातिकमा भइसकेको छ । उनले भने, ‘एसईई एउटा विद्यालयका विद्यार्थीहरुले मात्र दिन्छन् । परीक्षाको सेन्टर जिल्ला सदरमुकाममा पर्छ । त्यहीँबाट परीक्षा दिन्छन् ।’ जाडोयाममा पालिकामा नबस्ने भएकाले विद्यार्थीहरुले परिवारसँगै सुर्खेत वा काठमाडौंमा गएर पढाइसम्बन्धी क्रियाकलापलाई निरन्तरता दिने गरेको उनले बताए । 

पालिकाभित्रका मानिसहरु हिउँदमा सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा गएर बसोबास गर्ने चलन रहेको र हिउँदको समयमा बालबालिका उतै गएर अध्ययन गर्ने उनको भनाइ छ । उनका अनुसार गाउँपालिकामा २ वटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । गाउँपालिका ६ वटा वडा रहेको र भुगोल सानो भएकाले तीनवटा मात्र विद्यालय सञ्चालनमा रहेको उनले बताए । गाउँपालिकाभर ६०० भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको उनले जानकारी दिए । 

एक्सन डोल्पो र डोल्पो भिजन भन्ने दुईवटा डोनर एजेन्सी संस्थाबाट गाउँपालिकाको विद्यालयमा शिक्षकहरुको व्यवस्थापन भएको उनको भनाइ छ । सो संस्थाले काठमाडौंबाट शिक्षकहरुलाई नियुक्त गरेर विद्यालयमा उपलब्ध गराएको उनले बताए । सरकारबाट गाउँपालिकामा माध्यमिक तहमा शिक्षकहरु उपलब्ध नभएको उनी पालिकाखबरलाई बताउँछन् । गाउँपालिकामा सञ्चालनमा रहेको विद्यालयमा ६ जना माध्यमिक शिक्षक छन् । सो शिक्षकहरुको तलब पनि ती संस्थाहरूबाट  प्राप्त हुन्छ ।