close

त्यसैले विद्यार्थीहरूको नाममाथि रातो धर्को कोरियो

त्यसैले विद्यार्थीहरूको नाममाथि रातो धर्को कोरियो

Trulli
ADVERTISEMENT

काठमाडौं– हाजिरी कापीको तेर्सो सूचीमा विद्यार्थीहरूको नाम लेखिन्छ । ठाडोमा विद्यार्थीहरू उपस्थित भएका/नभएका थाहा पाउन बारअनुसारको कोठामा कालोले टिक लगाउने गरिन्छ । अनि शनिबार वा सार्वजनिक बिदाको दिन ठाडोमा रातो धर्को कोरेर विद्यार्थी हाजिर नभएको संकेत गर्ने गरिन्छ । 

यो हाजिरी पुस्तिकाको कुरा हो । जाजरकोट र रुकुमका ४ स्थानीय तहमा अध्ययनरत ४० विद्यार्थीहरूको नाममा अब पूरै रातो धर्को कोरिएका छन् । त्यो पनि शनिबारको जस्तो ठाडो धर्को होइन । नामसमेत कोरिने गरी तेर्सोमै रातो धर्का लगाएर सधैंझै हाजिर सर/एस सर जस्ता शब्दको अपेक्षा पनि गरिएका छैनन् । 

किनकि गत कातिक १७ गते जाजर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी रुकुम र जाजरकोटका ४ स्थानीय तहका ४० विद्यार्थीहरूले ज्यान गुमाएका छन् । 

मृत्यु हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै जाजरकोटको भेरी नगरपालिकाका विद्यार्थी छन् । भेरी नगरपालिकाका १३ जना विद्यार्थीहरुले ज्यान गुमाएका शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले बताए । मृत्यु हुने विद्यार्थीको सङ्ख्या थप बढ्न सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘विद्यार्थी टाढादेखि आउने भएकाले पनि विद्यालयलाई सबै विद्यार्थीको विवरण थाहा छैन । कति विद्यालयको संरचना भत्किएर रजिस्टर समेत छैन ।’

भुकम्पपछि सबै विद्यालय खोल्न नगरपालिकाले निर्देशन दिएको उनले बताए । तर, विद्यालयको भौतिक संरचना जीर्ण भएकाले पढाउने वातावरण नभएको उनले पालिकाखबरसँग बताए । उनले भने, ‘नगरपालिकाभित्रका लगभग ५० प्रतिशत विद्यालयहरु खुलेका छन् । तर पढ्ने/पढाउने वातावरण छैन ।’ विद्यालयसमयमा शिक्षक र विद्यार्थीहरू खुल्ला चौरमा भेला हुने र खेल खेलेर फर्कने गरेको उनले बताए । 

उता रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीको भुकम्पमा परी मृत्यु भएको पुष्टि भएको छ । नगरपालिकाका शिक्षा अधिकृत इन्द्र विष्टका अनुसार जनविकास माध्यमिक विद्यालय टाकुराका ३ जना विद्यार्थीको ज्यान गएको छ । दलित जनविकास आधारभूत विद्यालय गोइरीको २ जना, जनज्याति आधारभूत विद्यालय बाँकेका एकजना, नवज्योती आधारभूत विद्यालय छेपारेको २ जनाको ज्यान गएको छ ।

त्रिवेणाी आधारभुत विद्यालय स्यानिवार्खुको २ जना र जनकल्याण माध्यमिक विद्यालय गोइरीको एक जना विद्यार्थीको भुकम्पमा परी मृत्यु भएको शिक्षा अधिकृत विष्टले पालिकाखरलाई जानकारी दिए । 

जाजरकोटको नलगाढ नगरपालिकामा भुकम्पका कारण ८ जना विद्यार्थीका साथै शिक्षक र व्यवस्थापन समितिका अध्यक्षले समेत ज्यान गुमाएका छन् । नगरपालिकाका स्रोत व्यक्ति मणिराम पोखरेलको अनुसार ८ जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । 

मृत्यु हुनेमा नगरपालिकाको वडा नं १ को शिव शंकर आधारभूत विद्यालयका ३ जना विद्यार्थी छन् । नेपाल राष्ट्रिय प्राविका ४ जना र निर्मल ज्योति आधारभूत विद्यालयको एक जना विद्यार्थीसहित शिक्षकको पनि मृत्यु भएको हो । 

नेपाल राष्ट्रिय प्राविकै शिक्षिका कल्पना विष्टको मृत्यु भएको उनले जानकारी दिए । नेपाल राष्ट्रिय प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दत्तबहादुर कुमाईको पनि भूकम्पमा परी ज्यान गएको उनले पालिकाखबरसँग बताए । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भुकम्पमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल सिं विष्टका अनुसार मृत्यु हुनेमा वडा नं १ को शीतल मावीको कक्षा ३ मा अध्यननरत यमराज पुन, भेरी दोभान मावि चानाबगरको बालविकासमा अध्ययनरत सरस्वती वि.क छन् ।  

बालज्योती मावि  गिठाकोटको कक्षा ४ मा अध्ययनरत मनिषा परियार, सानीभेरी मावि बलिबाङ को कक्षा २ का निर्जल चन्द र कक्षा १ की कृष्णा परियारले भुकम्पका कारण ज्यान गुमाएका हुन् । यस्तै त्रिवेणी मावि रिम्नाका कक्षा १ मा अध्ययनरत प्रवेश ओलीको मृत्यु भएको उनले जानकारी दिए ।  

गाउँपालिकाभित्र भूकम्पबाट करिब ३५०० जना विद्यार्थी प्रभावित रहेको प्रारम्भिक तथ्यांकबाट देखिएको शिक्षा शाखा प्रमुख विष्टले पालिकाखबरसँग बताए ।